arrow

चैत्र शुक्ल अष्टमी र नवमी दुवै परेकाले एकै दिन चैते दशै र रामनवमी 

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
chaite_dashain.JPG

काठमाडौं  । चैत्र शुक्ल अष्टमी र नवमी दुवै परेकाले चैते दशै र रामनवमी आइतबार एकै दिन मनाइँदै छ । विहान सुर्योदयको  समय, उदयकालमा अष्टमी परेकाले हिजो देखि अष्टमी भएपनि आज चैते दशै मनाउनुपर्ने शास्त्रमा उल्लेख भएको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सुर्यप्रसाद ढुंगेलको भनाई छ  ।

ढुंगेलका अनुसार अाइतबार विहान साढे सात बजेसम्म अष्टमी तिथी परेको थियो । यस्तै, चैत्र शुक्ल नवमीको समय मध्यान्हकालमा भएको दिनमा रामनवमी मनाउनुपर्ने भएकाले आजै रामनवमी पनि मनाइँदैछ । 

चैते दशैंका दिन अष्टमातृका देवीहरुको शक्ति पीठहरुमा भक्तजनको घुइचो लागेको छ ।संस्कृतिविद विनोद राज शर्माले चैते दशैमा पनि नवरात्र पर्वकै रुपमा चैत शुक्ल प्रतिपदा देखिनै मनाउनुपर्ने बताएका छन् । वर्षभरीका चार नवरात्र मध्ये यो नवरात्र पनि प्रमुख नवरात्र मै पर्ने उनको धारणा छ । 

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा अष्टमातृका देवीका रुपमा पुजा गर्ने परम्परा  छ ।

हिन्दु धर्मालम्वीहरुले अष्टमीका दिनमा  चैते दशै मनाएर नवमीका दिन  विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् । तर, यसपाली अष्टमी र नवमी दुवै एकैदिन परेकाले एकै दिन श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी  रामनवमी पर्व पनि मनाईंदैछ ।

मर्यादा पुरुषोत्तम रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । 

यसैबीच, जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुषसागर, लगायतका पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ