बौद्धनाथ क्षेत्र विकास समितिमा चरम भ्रष्टाचार, अख्तियारमा निवेदन
प्रकाशित २०७४ चैत ११ आइतबार
376
Shares
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिमा चरम भ्रष्टाचार भएको छ । समितिका अध्यक्ष राजकुमार लामाले चरम भ्रष्टाचार गरेको भन्दै समितिका सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।
‘आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेकाले कार्वाही गरी पाऊँ’ भनी अध्यक्ष लामाविरुद्ध निवेदन दिएको समितिका सदस्य मंगल सिं लामा वलले बताए ।
समितिका पाँच मध्ये तीन सदस्यले हस्ताक्षर गरी गत फागुन १९ गते अख्तियारलाई निवेदन बुझाइएको हो ।
निवेदनमा चाइनिज दूतावासले दिएको भनिएको एक गाडीको प्रक्रिया पूरा नगरी सो गाडीको मुल्य के कति हो भन्ने पनि स्पष्ट नभइ आर्थिक अनियमितता गरेको, आफै अध्यक्ष भएको लभव छोर्तेन चैतय निर्माण कार्यको लागि आफैले मिति सच्याएर गैर कानुनी ढङ्गले रकम निकासा गरी लगेको तथा विभिन्न विदेशी धर्मावलम्बी दाताले दिएको भनिएको लाइट कुनै पनि जानकारी नगराई जवरजस्ती जडान गरी आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
यस सम्बन्धमा पर्यटन मन्त्रालयको छानविन समितिले फिल्ड रिपोर्टिङ समेत गरिसकेको समिति सदस्य वलले बताए ।
यसैबीच, समितिका सुपरभाइजर अर्जुन भन्ने टासी कुमार लामालाईसमेत बन्धक बनाइ जवरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको आरोप अध्यक्ष लामाथि परेको छ ।
अर्जुनले बौद्ध प्रहरी प्रभागसंगै महानगरीय प्रहरी परिसरमा निवेदन दर्ता गराउँदै मुलुकी ऐन अपहरण तथा शरीर बन्धक अन्तर्गत कसुर अपराध गरेकामा सोही अनुसार कार्वाही गर्नका लागि निवेदन दर्ता गराएको बताए ।
अध्यक्ष लामाले डर र धम्की दिनका लागि अर्जुनमाथि चैत ६ गते उक्त घटना गराएको निवेदन दर्ता भएको हो ।
लामाले आफूमाथि लागेको आरोपलाई झुठो सावित गर्नका लागि सदस्यहरुलाई फसाउने रणनीति बुनेको समेत आरोप लागेको छ ।