चुनावको बेला स्पष्टिकरण सोधेको रिस फेरे ओलीले, अयोधीको झाँको झारे
प्रकाशित २०७४ चैत १२ सोमबार
167
Shares
काठमाडौं। मंसिर १० र २१ को प्रतिनिधिसभा र प्रदेशसभाको पर्यवेक्षण गरेको राष्ट्रिय पर्यवेक्षण समिति (नियोक) को प्रतिवेदन सुन्न र हेर्न दुईसय जनाभन्दा बढी भेला भएका थिए । हालै युरोेपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदन विवादमा परेकोले नियोकको प्रतिवेदन रुचिको विषय थियो ।
नियोकले आइतबार बिहान पौने १० को समय दिए पनि, कार्यक्रम एकघण्टा ढिला शुरु हुँदा समेत कसैले आपत्ति जनाएनन्, आयोजक पनि प्रधानमन्त्रीलाई कुरेरै बस्यो कार्यक्रम शुरु गर्न । कार्यक्रममा प्रधानमन्त्री ओलीले हाम्लाई हेप्ने काम नगर्नू ! भन्दै इयू मिसनको आलोचना मात्रै गरेनन्, बायाँपट्टि आडैमा बसेका प्रमुख निर्वाचन आयुक्त अयाधी प्रसाद यादवको धज्जी उडाए, पूर्व प्रमुख आयुक्तहरु, पर्यवेक्षक सहित २ सय जनाभन्दा बढीको मुखिन्जेल ।
प्रमुख आयुक्त यादवको हूर्मत लिन उनले, चुनावी अभियानमा आफुलाई सोधेको स्पष्टिकरणको प्रसंग कोट्याए । एउटा चुनावी मैदानमा भएकोमध्ये म पनि एउटा हुँभन्दै कुरा उठाए । ओलीले भने “मैले संविधानको पालना गरेको छु, इलेक्शन कमिशन प्रमुखतिर हेरेरै भन्छु । कानुनको पालना गरेको छु, आचार संहिताको पालना गरेको छु” । आलोचना होइन तर सुझाव हो भन्दै कुरा मिलाएका ओलीले, “इलेक्सन कमिशनले कहिले कहिले नचाहिने गरि डिष्टर्ब गर्या छ, कस्तो पत्र आउने भने क्याम्पियनमा हिँडिराख्या हुन्छु, २४ घण्टा भित्र तपाईंलाई कार्वाही किन नगर्ने जवाफ दिनुस् भनेको सुनाए । हलमा हाँसो छरियो ।
चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली र तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवावीचको कतिपल्ट प्रधानमन्त्री बन्ने भन्ने अभिव्यक्ति दिने होड चलेको थियो । ओलीले भनेका थिए देउवा प्रधानमन्त्री हुने यो अन्तिम पल्ट हो । देउवाले जवाफमा भनेका थिए, मलाई ज्योतिषले ७ पल्ट भनेका छन्, अबको प्रधानमन्त्री पनि मै हूँ । यही विषयमा आफुलाई स्पष्टिकरण सोधेको भन्दै ओली अयोधी यादवसँग रिसाए । उनले भने, “नेपाली कंग्रेस चुनाव हार्छ अब शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री हो काँग्रेसको भनेको के हो ? कार्वाही किन नगर्ने तपाईलाई २४ घण्टाभित्र स्पष्टिकरण देऊ, भन्छ(आयोग) ।
स्पष्टिकरण सोध्ने विषय हो यो ? उनले प्रश्न उठाए । बेलाबेलामा यादवतिर फर्किँदै ओली भन्दै गए, “म त नेपाली कंग्रेसलाई हराउन चुनावमा उत्रेकै हो । छँदैछु । नेपाली कंग्रेसले एमालेलाइ हराउन पाउने, एमालेले कंग्रेसलाई हराउन पाउने भनेर चुनाव गराउनुभो । म चुनावको मैदानमा गएँ । मैले भनेंः कंग्रेसलाई हराउँछु । शेर बहादुर देउवा कंग्रेसको अन्तिम प्रधानमन्त्री हो, अब उप्रान्त हुँदैनन्” । कार्यक्रममा उनले सुनाए, “अर्को दिन प्रचारमा जाँदा त हाताँ पत्र । २४ घण्टाभित्र स्पष्टिकरण देऊ, कार्वाही किन नगर्ने ”? भन्छ । हाँस्दै उनले अनुभव सुनाए, “म छक्क परें कार्वाही गर्ने विषय काँ बाट आयो यो ! अनि मैले आयोगलाई भनें, कुन पार्टीको अध्यक्ष जस्तो मान्नु भो ? एमालेको अध्यक्षले संबिधान तोड्दैन, कानून तोड्दैन, आचार संहिताको उल्लंघन गर्दैन, कल्लाई काटेको पत्र यो?, म एमाले अध्यक्षको नाउँमा आ छ यो । गलत ठाउँमा (हलमा हाँसो....) । उनले यादवलाई चुनौती समेत थिए , “प्रमुख आयुक्त यहीँ हुनुहुन्छ, पब्लिक्ली भन्नु सक्नुहुन्छ यू आर फ्रि टू से । र मलाई बनावटी कुरा गर्नु पनि छैन, बाहिरबाहिर घण्टी बाँध्ने भित्रभित्र मुसा खाने काम मबाट हुँदैन” ।
यादवप्रति कटाक्ष र शब्द वाण कस्तै गरेका ओली अब फकाउन पट्टि लागे । उनले सम्झाए, “यो आलोचना होइन है फेरी । त्यसका पछाडी फेरी थुप्रै कारण हुन्छन् क्या । फ्यासे फुसे कारणहरु... । ब्यालेन्स मिलाउनलाई । एउटाले आचार संहिता उल्लंघन गर्छ, पत्र काट्यो भने मलाई मात्र पत्र काट्ने ? ऊलाई काट्या छ ? अर्को पार्टीलाई काट्यो ? भन्छ । उसलाई पनि काटौंन त भन्दा कस्तो गलत ठाउँमा पर्छ (हाँसो ) । यादव यतिबेला भने अलिक हँसिलो देखिए।
तर ओलीको गुनासो रोकिएन । उनले आयोग इलेक्सनप्रति जवाफदेही हुने र सम्पूर्ण अधिकार उसलाई हुनुपर्छ भने । एउटा नेताले यो गर भन्याछ त्यही गर्याछ अर्को नेताले त्यो गर भन्या छ त्यही गर्या छ भन्दै आरोप लगाएका ओलीले आयोगलाई इम्पावर गर्न जरुरी छ भने । उनले थपे, “अहिलेकै जस्तो पाराले इलेक्सन इम्पारसियल, फ्रि, फेयर हुन सक्दैन” ।
निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निवार्चन नभएका प्रमाण पेश गर्न प्रधानमन्त्री ओलीले मन्त्री परिषद विस्तारको विषय उठाए । “फर इक्जाम्पलः आचार संहिता लागिसक्यो मन्त्री परिषद विस्तार गर्नु गलत भनेर आयोगले विज्ञप्ती निकाल्यो । आयोगले भन्यो–यो गल्ती सच्याऊ । पर्सी पल्ट ४ जना थपिदियो सरकारले (हाँसो ) । फेरी आयोगले भन्यो यो हुन्छ, मन्त्री थप्न पाइन्छ । पत्रकारले सोधे कसरी पाइन्छ ? आयोगले जवाफ दियो–अस्ती अस्ती पनि भाको छ (हाँसो) । ओलीले कटाक्ष गरे, “भाकै हो, हाँस्दै.. कति सत्य बोल्याछ हेर्नुस् त” (फेरी हाँसो) । किन पाइन्छ त भन्दा पहिले नि भा को छ, भाकै पनि हो ।” (हाँसो) ।
उनले फेरी फकाउन थाले, “निर्वाचन आयोगले खुशीले यो गर्यो म भन्दिन । पक्कै खुशीले कुनै निकायले यस्तो गर्दैन । हिजो अर्को सरकार थियो भनेर होइन, आज म प्रधानमन्त्री भएपनि यस ढंगले हुँदैन । आयोगले आचार संहिता उसलाई लाग्ने उसलाई नलाग्ने गर्न हुँदैन” ।
४२ मिनेटको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करीब १० मिनेट आयोगको कार्यशैली आलोचनामा खर्चिए । उनले आचार संहिता उल्लंघनकर्तामाथि आयोगले एक रति कार्वाही नगरेको आरोप पनि लगाए । उनले भने “कार्वाही भनेको झ्यालखानामै हाल्न पर्दैन । थुप्रै स्टेप छन् । सिन्को एउटा भाँच्न नसक्ने, त्यो पनि हुन्छ” ?
यादवतिर हेर्दै, निर्वाचन गराउनु भाकोमा धन्यवाद भनेका ओलीले, तर पटक पटक अशक्तता देखाउनु हुँदैन पनि भने । संवैधानिक अंगहरु सबल हुुनुपर्ने भन्दै उनले अब आयोगलाई रिभाइम र रिफर्म गर्नुछ त्यो हामी गर्छाैं भने। अन्तमा ओलीले “मेलै भनेका कुरा कमेन्टस् मात्रै हुन् क्रिटिसिजम होइनन्” भनेर ब्यालेन्स मिलाए । ओलीले कटाक्ष गरिरहँदा हलमा उपस्थित २०० भन्दा बढी हाँस्थे, आयोग प्रमुख अयोधी यादवले एकाध प्रसंग बाहेक हाँस्ने जाँगर पनि गरेनन् । आडैमा बसेका उनी न्याउरो मुख लगाएर घरिघरि ओलीलाई हेर्थे ।