arrow

जनतान्त्रिकका सैन्य कमाण्डर बारुदलाई अदालतमा पेश गरिँदै 

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
courts.jpeg

काठमाडौं । प्रहरीको मोष्ट ओन्टेड सूचीमा राखिएको, जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर सुरेन्द्र यादवलाई सोमबार सर्लाही जिल्ला अदालतमा पेश गरिँदैछ । बारुद सिंह उपनाम राखेका यादवलाई अदालतमा लैजानुुअघि कागजात मिलाउने काम भइरहेको सर्लाहीका एसपी मसुद आलम खानले जानकारी दिए । 

यादवलाई पक्डिन सीआइबीको टोली केन्द्रबाटै खटिएको थियो । सीआइबीको टोलीले यादवलाई आइतबारमात्रै पर्साबाट पक्रेर राती नै जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुुझाएको थियो । 

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर यादव लामो समयदेखि भूमिगत थिए । सर्लाहीमा उनीमाथि अपहरण, शरीर बन्धक, फिरौती, चन्दा असुली, विष्फोट   लगायत ६ वटा मुद्दा छ ।

यादवमाथि, गएको जेठ १५ गते सर्लाही बरहथवा ४ का रामपुकार राय यादवका ८ वर्षे छोरा गोलुलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप छ । त्यस्तै रौतहट प्रहरीमा पनि यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका ४ वटा मुद्दा रहेको रौतहटका एसपी यज्ञ विनोद पोखरेलले जानकारी दिएका छन् । ४२ वर्षे सुरेन्द्र यादव उर्फ बारुद सिंह रौतहट गरुडा नगरपालिका ६ अमरपटीका बासिन्दा हुन् । 

सुरेन्द्र यादव पक्राउ पर्नु प्रहरीको ठूलो उपलब्धी भएको सर्लाहीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ