arrow

चैते दशैँ बागलुङे मेलैमा

logo
नारायण रिजाल,
प्रकाशित २०७४ चैत १२ सोमबार
baglung2.jpg

बागलुङ ।  यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरका छुट्टै महत्व रहेको छन । बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ कालिका मन्दिर र चैते दशैंको मेला बन्न पुगेको छ । बागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् ।

 त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि गाईएका छन् । गायक शुभराम भारीले गाएको आँटेको पुर्‍याईदेऊ रेशम बागलुङ कालिका गितले कालिका मन्दिरको महिमालाई बोल्छ ।  त्यस्तै गायक टिका क्षेत्री प्रकृतिले गाएको चैते दशै बागलुङे मेलैमा, बिमलराज क्षेत्रीले दशै मैलेमा माया बस्या ख्याल ख्यालैमा लगायतका थुप्र गितले  चैते दशै मेलाको बारेमा बोलेको छन । गितले बागलुङ कालिका र चैते दशै मेला बीचको सम्बन्धलाई उजागर गरिएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन चैत दशैं मेला गरिन्छ ।
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैते दशैं मेलाको सुरु भएको किम्बदन्ती पाईन्छ । उसो त कालिका मन्दिरमा हरेक दिन पूजा पाठ हुन्छ । यद्यपी चैते दशैं र वडा दशैंमा भक्तजनहरुको ठूलो घुँईचो लाग्छ । विशेषगरी चैतै दशैं, धुमधामका साथ मेला लाग्ने यो दिनलाई खास मानिन्छ । हरेक वर्ष चैते दशैंमा यहाँ मेला लाग्छ ।

राजा प्रतापी नारायण मल्लले माझकी देवीलाई हालको बाँगेचौरमा स्थापित गरेर आफ्नो राज्यको राजधानी ढोर(ल)थाना म्याग्दीको (बेनी) गएका थिए । तत्पश्चात उनै कालिका देवीको मन्दिरमा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैत दशैं मेला गरिने प्रचलन (परम्परा) चलाएको किम्बदन्ती रहेको बागलुङका पुराना पत्रकार बिदुर खड्काले बताए ।

राजाले देवीलाई ढोर(ल) थाना नलग्नुको पछाडी विभीन्न कारण रहेको उनको भनाई छ । खड्का भन्छन्, ‘पर्वते राजाहरु वैष्णवमार्गी थिए । राजा प्रतापी नारायणका बाजे राजा डिम्बबम मल्ल जगन्नाथका परम भक्त थिए । जगन्नाथको मन्दिर रहेको गाउँ अर्थात आसपासमा काटमार गर्ने प्रचलन अहिलेसम्म पनि नरहेको हुँदा देवीको मन्दिर यहाँ स्थापना गरिएको पाईन्छ ।’ पछि बागलुङ कालिका भन्ने चलन रहेको खड्काले आफ्नो बागलुङका पवार खड्का नामक पुस्तकमा उल्लेख गरेका छन । राजकुमारीको निकै प्रिय माझी देवीलाई बाँगेचौरमा स्थापना गरेपछि रानीको चित्त दुखाईलाई बुझेका राजा प्रतापी नारायणले बाँगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैतदशैं मेलाको आयोजना गरी रानी सहित आफु आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद लगायत हाटबजार सञ्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझने परम्परा कायम गरेको बताईन्छ ।

मनोकाँक्षा पूरा हुने विश्वास
बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्र्दा मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस र सुँगुर समेत बली दिईन्छ ।

लाखौं आन्तरिक तथा बाह्य पर्यटक
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष राजु खड्काका अनुसार हरेक वर्ष वडादशैंमा ३ लाख भन्दा बढि र  चैत्ते दशैंमा झण्डै चार लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्छन् । वडादशैंमा भाकल गरेकाहरु पूजा गर्न धेरै आउँछन् । चैत्ते दशैंमा भने घुम्न र हेर्नका लागि आउनेहरुको संख्या बढि हुने गरेको खड्काले बताए । बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ । भक्तजनले मन्दिरको मुल गेटमा १५ केजी चाँदीको फ्रेम चढाएका छन् । कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौं वर्ष पुरानो प्रचलन रहि आएको छ ।

मन्दिरमा आउने भक्तजनहरुको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाईएको अध्यक्ष खड्का बताउँछन् । पूजाका लागि लाईनको व्यवस्था गरेका छौं, २० जना नियमति कर्मचारी र केही कर्मचारीलाई करारमा करामा नियुक्त गरेका छौं,’ उनले भने, त्यसका साथै स्वयँसेवक र सुरक्षा निकायको पनि साथ लिएका छौं, मन्दिर परिसरमा ११ वटा सीसी क्यामेराबाट निगरानी भैरहेको छ ।’ कालिका मन्दिरको दर्शन गर्न देशका विभिन्न स्थान र भारतबाट समेत हजारौं दर्शनार्थीहरु आउने गर्छन् ।
 
परेवाका बलि चढाउन रोक
मन्दिरमा व्यवस्थापन समितिले गतवर्ष देखि परेवाका बलि चढाउन रोक लगाएको छ । परेवा शान्तिको प्रतिक मानिने भएकाले बली चढाउन रोकेर उडाउने व्यवस्था गरिएको गुठीले जनाएको छ । अहिले हरेक बिहान मन्दिर पसिरमा भजन कृतन हुन्छ । नवमीको दिन रथयात्रा सहित चञ्चलादेवीको मूर्तिलाई बजार परिक्रमा गराउने गुठीको तयारी छ । अहिले चैते दशैंका दुर्गा लागेसंगै श्रद्धालुहरुको संख्या बढ्दै गईरहेको छ ।

सामाजिक र आर्थिक क्षेत्रसंग जोडने
बागलुङ कालिका मन्दिर र चैते दशैं मेला जिल्लाको आर्थिक सामाजिक अवस्था संग जोडिएको छ । बाईसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितीन्छ भन्ने विश्वासका आधारमा राजाहरुले पुजापाठको चलन बसाएको संस्कृतिविद प्रेम छोटा बताउँछन । चैते दशै मेला यहाँको सामाजिक र आर्थिक क्षेत्रसंग जोडिएको छ । चैतें दशैको मौका पारेर यहाँका स्थानीय उत्पादनहरुको विक्री वितरण गर्ने गरिन्छ ।

उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत
ग्रामिण भेगमा उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत बनेको छ मेला । यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं युवा व्यवसायी बसन्तकुमार श्रेष्ठले बताए । चैते दशैंमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्दछन ।यहाँको ग्रामिण क्षेत्रमा निगालोको चोयाबाट निर्मित डोको डाली, नाङ्लो, काठको ठेकी,फलामका भाडाँ, मादल, लिएर मेलामा बिक्रि वितरणका लागि राखिने छ । यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने श्रेष्ठले बताए । मेलामा विभिन्न ठाउँहरुबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला डाली नाङला आदी स्थानीय उत्पादन ल्याएर विक्री गर्ने चलन अझै पनि कायमै छ । विगतमा यहाँको अर्थतन्त्र चैते दशैं मेलामा निर्भर रहेको कुरा बागलुङ यहाँका व्यवसायीहरु बताउँछन । कुनै बेला सडक नहुँदा चैतें दशैमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको बानपा १ रामरेखाका महेन्द्र आचार्यले बताए ।  आचार्यले भने ‘चैते दशैंले बागलुङलाई आर्थिक रुपमा सबल बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ ।  

दोहोरी गितको खानी  
चैते देशै मेला दोहोरीगीत लागि एउटा खानी रुपमा रहेको छ । प्रत्येक वर्ष  चैत्राष्टमी मेलाका क्रममा दोहोरीगीत प्रतियोगितालाई निरन्तरता दिने गरिएको छ । पछिल्लो समयमा उत्पादन भएको अधिकाम्स कलाकार चैतै दशैं मेलाको उपज भएको लोकदोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रका पुर्व महासचिव विष्णु खत्री बताउँछन । देशका विभिन्न स्थानबाट मेलामा दोहोरी गितमा कलाकारहरु भाग लिने गर्दछन ।  चैतै दशैं मेलामा लोक दोहोरी प्रतियोगिता हुने चलन निकै पूराना हो,’ खत्रीले भने चैते दशैं मेलामा दोहोरी गाउँदा गाउँदै म लोक दोहोरी क्षेत्रमा लागेको हुँ ।

 पहिले पहिले म्याग्दी पर्वतमा महिला र यहाँका पुरुष तथा यहाँका महिला र म्याग्दी पर्वतका पुरुषहरुबीच लगातार दुई तीन दिनसम्म झाम्रे गाउने चलन भएको अग्रजहरु बताउँछन ।  त्यतीबेला, सालैजो, यानीमाया, लस्के भाका लगायत यहाँको स्थानीय मौलिक गितहरु चैते दशैंमा गाउने गरिन्थ्यो । अहिले विस्तारै हराउँदै गयो, गाउन छोडेपछि नयाँ पुस्ताले भुलेको बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले बताए ।  चैते देशैं मेलाको पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगितालाई चैत्राष्टमी मेला व्यवस्थापन समिति यस वर्ष पनि निरन्तर दिएको छ । मेला चैत्र १३ गते सम्म संचालन हुने छ ।

 लोकदोहोरीगीत प्रतियोगिताको विजेताले एक लाख ११ हजार द्वितीयले ५५ हजार र तृतीय हुनेले ३३ हजार नगद पुरस्कार प्राप्त गर्ने मेला व्यवस्थापन समितिका सचिव कुमार खड्काले बताए । मेलाको अवसरमा मोफसलको सर्वाधिक पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार द्वितीयले एक लाख र तृतीय हुनेले ५० हजार पुरस्कार पाउनेछन् । चैत्राष्टमी मेलालाई लक्षित गरिएको टि—ट्वान्टी क्रिकेट प्रतियोगिता जारी छ । १८ समूह सहभागी प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ द्वितीयले ५५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । छेलो प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार जित्नेछन् ।

रमाईलो मेला बाल उद्यान
रमाईलो मेला बाल उद्यान र ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहेनेछ । मेलाको आईतबार उद्घाटन भए पनि क्रिकेट खेल चैत ४ देखि नै सञ्चालनमा छ । मेलमा विभीन्न व्यापारीक स्टलहरु समेत राखिएका छन् । स्थानीय उत्पादनलाई महत्व दिने उद्देश्यले यहाँ उत्पादित डोका, डाला, नाङ्ला, ठेका लगायत वस्तुहरुलाई विक्रीका लागि विशेष व्यवस्था गरिएको मूल संयोजक राजु खड्काले बताए । स्थानीय उत्पादनका वस्तुको विक्रीका लागि स्टलमा बस्न नरुचाउने भएकाहले उपयुक्त र उहाँहरुले चाहेको स्थानमा मौलिक वस्तुहरुको व्यापार र प्रवद्र्धन गरिएको छ ।
 
पूर्वाधार निर्माणमा तिव्रता
अहिले बागलुङ कालिका मन्दिर मन्दिरको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा तीब्र गति लिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आफु अध्यक्ष भए पश्चात मन्दिरको चुहिने छानो फेरिएर अहिले तामाको पाताले छाईएको छ । मन्दिर पसिरमा स्लेट ढुङ्गा बिच्छ्याईएको छ । मन्दिरको बृहत्तर विकास गरेर धार्मिक तथा पर्यटन गन्तव्य स्थलको रुपमा अगाडी बढाउने गुरुयोजना निर्माण गरिएको छ ।  दिर्घकालिन रुपमा असर नपर्नेगरी भौतिक निर्माण गर्न गुठी संस्थान र पुरातत्व विभागमा अध्ययनका लागि अगाडि बढाईएको अध्यक्ष खड्काले बताए ।  मन्दिर पछाडिको भ्यू प्वाइन्ट र ज्येष्ठ नागरिक आश्रम पनि यस वर्षबाट निर्माण थाल्ने गरी दातृ संस्थाहरुसंग छलफल भैरहेको खड्काले बताए । मन्दिरको आम्दानीले मात्र सबै संरचना निर्माण सम्भव छैन, त्यसैले दाताहरुसंग सहयोग अपिल गरेका छौं, खड्काले भने,  कालिगण्डकी करिडोरबाट सिधै मन्दिर आउनेगरी लिफ्ट या केबलकार निर्माण गर्ने तयारी छ । मन्दिरको मूल गेटमै पूजा सामग्री किन्न तथा खाजा खानका लागि सुविधा सम्पन्न रेष्टुरेण्ट समेत सञ्चालनमा छ ।

बन्यजन्तु उद्यानको तयारी
गुठीको बृहत्त योजना अन्तर्गत अहिले कालिका वन्यजन्तु उद्यानका काम चलिरहेको छ । मन्दिर पसिरमा तारजाली भित्र मृग देख्न पाईन्छ । निकट भविष्यमै कालिज र मयूर पनि यसैगरी राख्ने अध्यक्ष खड्का बताउँछन् । अर्को वर्षसम्म चितुवा राख्ने गरी काम भैरहेको छ । वन्यजन्तु संरक्षण पार्क निर्माणका लागि बागलुङ नगरपालिकासंग सम्झौता भएर काम अगाडी बढेको हो । आईतबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले चैते दशै मेलाको उदघाट्न गरेका छन । उदघाट्न गदै उनले मन्दिरको संरचना निर्माणका लागि सरकारले सक्दो सहयोग गर्ने बताए । त्यसका लागि नगरपालिकाले अहिले १५ लाख दिएको छ। यहाँको आर्थिक र पर्यटन विकासका लागि बागलुङ कालिका र चैते दशै मेलाले निकै महत्व बोकेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ