पुनर्वास,कञ्चनपुर । झन्डै डेढ महिना अघि कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँमा जातीय बिभेद गरेको आरोपमा किटानी जाहेरीका आधारमा दुई जनालाई प्रहरीले हिरासतमा लिई कानुनी प्रक्रिया अघि बढाएकै दिन सभाषद सहित मानव अधिकारवादी हरुको टोलीले घटनाको छानवीन सुरु गरेको छ ।
पुनर्वास ६ ङ गाउँ स्थित चोकमा रहेको मन्दिरमा शिवरात्रीका दिन पुजाको बिषयमा जातिय विभेद गरेको आरोपमा स्थानिय धनबहादुर बिक र टेक बहादुर बिकले दिएको किटानी जाहेरीका आधारमा पंडित बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई प्रहरीले आइतबार हिरासतमा लिइ कानुनी प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाउन म्याद थप गर्न जातिय विभेद गरेको किटानी जाहेरीका आधारमा हिरासतमा लिईएका भट्टराई र नेपाललाई सोमबार जिल्ला अदालतमा पेश गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाले बताए ।
पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासमा झन्डै डेढ महिना अघि देखि बिवादित बनेको जातिय विभेद गरिएको भनिएको घटनाको छानबिनकालागी सोमबार प्रदेश सभा सभाषद सहित अधिकारवादी संगठनका प्रतिनिधिहरुको टोलि पुनर्वास पुगेको हो ।
प्रदेश सभा सभाषद दुर्गा बिक,राष्ट्रिय दलित अधिकार आयोगका रामबहादुर मिजार,समता फाउन्डेसनका गोपाल नेपाली,प्रकाश नेपाली,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका चक्र बहादुर बिक,क्षत्रीय दलित नेटवर्कका टेकबहादुर बिक र पत्रकार सहितको टोलीले घटनाका पिडित , घटना स्थल तथा सरोकारवाला संग बयान लिएको छ ।
गत फागुन २ गते शिवरात्रीका दिन पुनर्वासको ङ गाउँ स्थित मन्दिरमा पुजा गर्ने बिषयमा विभेद गरिएको भन्दै बिभिन्न राजनीतिक दलका दलित संगठनका प्रतिनिधिहरुको रहोवरमा फागुन १४ गते प्रहरीमा मुद्दा दायर गरिएको थियो ।
राष्ट्रले जातिय छुवाछूत तथा विभेद अन्त्यको घोषणा गरि सक्दा समेत समाजमा अझै बिभेदका अबशेष बाँकी रहेको र यसको समुल नष्टका लागि राज्यले नीति बनाउन पहल गर्ने सभाषद दुर्गा बिकले बताइन् ।