arrow

६० रूसी कूटनीतिज्ञलाई ट्रम्प प्रशासनले दियो अमेरिका छोड्न निर्देशन

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
america-russia.jpg

वासिङ्टन । विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।
 
अमेरिकाले यसै सन्दर्भमा सिटलस्थित रूसी महाबाणिज्यदूतावासलाई बन्द गराउने पनि निर्णय गरेको छ । पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीति अनुरुप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो । 

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको जनाएको छ । निष्कासन भएका रूसी अधिकारीले आगामी एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने गरी अमेरिकाको योे निर्णय आएको नाम गोप्य शर्तमा अमेरिकी अधिकारीले बताएका छन् । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको प्रशासन विरुद्ध अमेरिकी प्रशासनले गरेको यो महत्वपूर्ण र कडा कदम हो । 

रूसी राष्ट्रपतिमा हालै निर्वाचित पुटिनलाई भण्डै एक हप्ता अघिमात्र फोनमार्फत वधाई ज्ञापन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समय स्क्रिपालको मुद्दाबारे कुनै प्रसङ्ग उठाएका थिएनन् ।  

यसले कतै ट्रम्प क्रेम्लिन प्रशासनप्रति निकै नरम त भएका होइनन् भन्ने प्रश्न उब्जाएको थियो । यसै विषयमा बेलायतले यस पहिले नै २३ जना रसियाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने जर्मनी र फ्रान्सले पनि पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् । 

यसैगरी यूरोपेली यूनियनका सदस्य रहेका अन्य राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरुप कडा कदम चाल्न सहमत भएका ब्रसेल्समा भेला भएका इयू सदस्य राष्ट्रका नेताहरूले बताएका छन् । 



नयाँ