राजदूत र विदेशी कूटनीतिज्ञलाई राखेर के भने ओलीले ?
प्रकाशित २०७४ चैत १३ मंगलबार
402
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गरेका छन् । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा मंगलवार सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भने।
पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको स्पष्ट गर्दै उनले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताए।
कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै उनले समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पारे।
“विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो” – प्रधानमन्त्री ओलीले भने। कुनै पनि गृह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नेपाली समाजमा हिंसाको कुनै स्थान नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सम्बन्ध र सद्भावमा खलल पुर्याउन खोज्नेलाई प्रश्रय नदिइने दृढता व्यक्त गरे।
समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै उनले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। समानतामा आधारित सामाजिक न्यायबिना दिगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त हाम्रो समाजको सामथ्र्यको स्रोत र पहिचान पनि सामाजिक विविधता भएको दोहोर्याए।
संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ एवं निष्पक्ष होस् भन्नेमा नेपाल अडिग रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिरबाट त्यसमा प्रभाव पारिनुहुन्न भन्नेमा सरकार गम्भीर रहेको बताए। संक्रमणकालीन न्याय सम्पादनका निम्ति दुई वटा आयोग कार्यरत रहेका जानकारी दिँदै उनले मानवीय कानून र मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने दोहोर्याए।
अन्तर्राष्ट्रियस्तरमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपालबाट प्रभावकारी रुपमा निरन्तर योगदान हुने बताउँदै प्रधानमन्त्री ओलीले भने – “राष्ट्रसंघको सुधारमा नेपालको समर्थन छ।” उनले शान्ति, सुरक्षा, विकास, मानवाधिकारलगायत मामिलामा उक्त विश्व संस्थालाई निपूण, प्रभावकारी र उत्तरदायी बनाउनु समयको माग भएको बताए।
संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यका नाताले मानवाधिकार संरक्षणका खातिर विश्वभर नेपालले आवाज बुलन्द गर्ने र सकारात्मक परिवर्तनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परिषद्मा नेपालको भूमिका गैरराजनीतिक हुने प्रष्ट गरे। छिमेकी मुलुकका जायज चासोप्रति सरकार गम्भीर रहेको प्रष्ट गर्दै उनले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन नदिने नेपालको अडानलाई दोहोर्याए।
नेपालको विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै उनले नेपालको विकासका प्राथमिकता र नेतृत्वको सम्मानका साथ सरकारी संयन्त्रलाई साथमा लिएर सघाउन आग्रह गरे।
उनले छिमेकका साथै सबै मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको बताए। “भारत र चीन नेपालका निकटका छिमेकी हुन्, दुवै देशसँगको हाम्रो सम्बन्ध अति सुमधुर छ। पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो” – प्रधानमन्त्रीले भने। रासस