काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषय सर्वोच्च अदालत पुगेको छ ।
अब यो विषयमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनुवाई हुने भएको हो ।
आदेशमा, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन’’ भनिएको छ ।
अधिवक्ता नारायण खरेलले दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । तर, न्यायाधीश खतिवडाको इजलासमा पेश गरेको निवेदनमै सुनुवाइ भएपछि थप बहसको आदेश भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट लिएको सपथ गैर संवैधानिक भएको दावी सहित निवेदनको निवेदन इजलासमा पेश गरिएको थियो ।
न्याय परिषद्का सचिव नृपध्वज निरौलाद्वारा अवकाश पाइसकेको पत्र बुझेपछि भएको राष्ट्रपतिको सपथको विवादमा संविधानको व्याख्याको विषय रहेको भन्दै न्यायाधीश खतिवडाको इजलासले मुद्दा दर्ता गर्न सर्वाेच्च प्रशासनलाई आदेश दियो ।
फागुन ३० गते अपरान्ह ४ बजे भएको राष्ट्रपति भण्डारीको सपथको केही समयअघि मात्रै तत्कालिन प्रधानन्यायाधीश पराजुलीले अवकाशको पत्र पाएका थिए । पराजुलीले चैत १ गते पदबाट राजीनामा दिएका थिए ।