एमाले–माओवादी एकताबारे टोपबहादुरले भने –म ज्योतिष हैन
प्रकाशित २०७४ चैत १४ बुधबार
105
Shares
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू ज्योतिष नभएको बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताका सम्बन्धमा उनले भने, ‘पार्टी एकता हुन्छ तर कहिले हुन्छ भनेर मिति नै तोक्न म ज्योतिष हैन ।’
उनले छिटोभन्दा छिटो पार्टी एकता हुने बताउँदै प्रधानमन्त्री ज्यू भारत जानुअघि पनि हुन सक्छ पछि पनि हुन सक्छ भने ।
नेता रायमाझीले ‘पार्टी एकता हुने र शक्ति बाँडफाँडका विषयमा तोकेर फिफ्टी फिफ्टी भन्दा पनि सम्मानजनक किसिमले उचित व्यवस्थापन हुनुपर्छ, हुन्छ पनि’ भने ।
उनले ‘कहिले एमाले महासागर र कहिले माओवादी महासागर हुने भएकाले यहाँ न कुनै नदी र न कुनै महासागर हुन्छन् चुनावमा हारजित हुन्छ तर सबै बराबरी हो’ भने ।
५०–५० को हैसियतमा एमाले र माओवादीबीच एकता हुने कुरा आफूले नगरेको तर सम्मानजनक हुनुपर्छ भन्नेमा अडिक रहेको उनले बताए ।
सम्मानजनकको मापन भने उनले खुलाएनन् । उनले स्पष्ट पार्दै भने, ‘यति संख्यामा मिल्छ भन्दा पनि सम्मानजनक भनेको हो ।’
नेता रायमाझीले सांगठनिक, जनवर्गीय संगठनमा पनि सम्मानजनकै हुन्छ भनी कार्यकर्तालाई आश्वासन दिएका छन् ।
नेताहरु धेरै भए पनि उचित प्रकारकै व्यवस्थापन हुने भन्दै उनले आफू पार्टी एकताको पक्षमा रहेको र पदको डिमान्ड नगरेको बताए ।