काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया नजिकिँदै गर्दा विभिन्न खाले अड्चनले बखेडा झिकिरहेको छ ।
नयाँ पार्टीले कुन बाद समात्ने भन्ने विषयको टुंगो लाग्न नसकेपछि महाधिवेशनले टुंगो लगाउने निर्णय भए पनि अहिलेको बखेडा झनै चर्को छ ।
पछिल्लो पटक ७० वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था गर्न थालिएपछि यसमा दुई पार्टीका नेताहरु नै आपसमा भिडिरहेका छन् ।
बुढा नेताहरुबाट मुलुक आजित भएको जनसरोकारको विषय भएकाले नयाँ पार्टीमा नयाँपन ल्याउन खोज्दा विवाद झनै बढेको हो ।
एकताका योजनाकार एमाले उपाध्यक्ष बामदेव गौतमले नै यसको चर्को विरोध गरेका थिए । एमालेका अर्का महत्वाकांक्षी नेता माधवकुमार नेपाल त कार्यदलको बैठकम अनुपस्थित हुँदा कार्यदलको बैठक नै बस्न सकेको थिएन ।
तर अन्ततः उमेर हद ७० वर्ष हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार भएको छ । अर्थात् पार्टी नयाँ काम, शैली र संरचना पुरानै ।
कार्यदलले बुधबार तयार पारेको संगठनको मस्यौदामा कार्यकारी तहको एकै पदमा दुई कार्यकाल र नेतृत्वबाट अवकाशका लागि सत्तरी वर्ष उमेर हदको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ ।
एमालेको नवौं महाधिवेशनले ७० वर्षको उमेरमा अवकाश हुने व्यवस्था लागू गरेको थियो । तर एमालेसमेत अहिले फेरि अझ पछाडि फर्कने देखिएको छ ।
माओवादीले पनि यसमा आपत्ति जनाउँदै आएको छ । नयाँ पुस्तालाई अगाडि सार्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइन भने आफूपछि सीधै दोस्रो पुस्तामा नेतृत्व जानुपर्छ भन्ने ग्राण्ड डिजाइन भएको एमालेकै शीर्ष नेताहरु बताउँछन् ।
ओलीको डिजाइनले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम रिंग बाहिर हुन्छन् । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत रिंग बाहिर हुने भएपछि एक किसिमको तरंग आएको छ ।
पार्टी एकतामा जहिले पनि निराशा व्यक्त गर्ने नेताहरु भने अहिले केही रुपमा खुसी देखिन थालेका छन् ।
नयाँ पार्टीले पनि भागबण्डा भने ठूलै गर्ने भएको छ । एकता महाधिवेशनसम्मका लागि तयार पारिएको विधानमा दुई अध्यक्ष हुनेछन् भने केन्द्रीय सदस्यहरु २९९ जना हुनेछन् ।
यसको टुंगो नलागे पनि अब गाउँगाउँमा समिति हुनेछन् । जसले गर्दा कुनै पनि नेता तथा कार्यकर्ता नछुट्ने नीति एमाले–माओवादीले ल्याउन खोज्दैछन् ।
धेरै सदस्य जोड्न खोजेर नयाँ शक्ति पार्टी बिग्रिएको उदाहरण जीवन्त छ ।
त्यसैगरी जवरजस्ती विचार नमिलि एकता गर्न खोज्दा राप्रपा तीन चिरा भएको घटना पनि ताजै छ ।
अरुचीपूर्वक हुन लागेको एकताको झमेला कहाँ गएर विष्फोट हुने हो टुंगो छैन ।