arrow

यसरी अविश्वासिला बन्दैछन् केपी शर्मा ओली 

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण मिठो नमान्ने विरलै होलान् । एक नम्बरका ‘उखान टुक्के’ नेताका रुपमा दरिएका प्रधानमन्त्री ओलीले सबैलाई लठ्ठ पार्ने क्षमता राख्छन् । 

उनी लोकप्रिय पनि खुवै भए । ओलीले आफूलाई देशभक्त बनाउनका लागि मिठामिठा भाषण पनि खुवै गरे । तर व्यवहारमा भने उनी निकै तल खस्केको विश्लेषण गर्न थालिएको छ । 

ओलीले आशा लाग्दा कुरा गर्दा जनताले भरोसा गर्न थालेका थिए । त्यसकै परिणामले उनी दोस्रो पटक प्रधानमन्त्री भएका छन् । तर नियालेर हेर्दै जाने हो भने ओलीले जे पनि बोल्न थालेपछि अब ओलीको बोलीमात्र हो कि भन्ने शंका बढ्दै गएको छ । 

पछिल्लो पटक बुधबार फेरि ओलीले केवल भाषणलाईमात्र उत्तेजित गराउने भाषण बोलेका छन् । उनले अब सिंगापुरलाई बिर्साउने गरी देश विकास हुने उद्घोष गरे । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले देशलाई पर्यटनको केन्द्र बनाएर समृद्ध नेपाल बनाउने दाबी समेत गर्न भ्याए । 

मुलुकको आय भन्दा बढी ब्यय देखिँदै गएको छ । झण्डै तीन करोड जनसंख्या भएको मुलुकमा करिब ७ लाख जनाले जागिर खान्छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, निजामति कर्मचारी, शिक्षक लगायत सबैले सरकारी ढुकुटी रित्याउने हुन् । 

आम्दानी घट्दो छ । खर्च बढ्दो छ । त्यहाँसम्म ठीकै थियो । अब स्थानीय तहको वडासदस्यको समेत तलव आउँछ । वडासदस्यदेखि लिएर राष्ट्रपतिले खाने देशको राजश्व नै हो । उनीहरु कसैले देशका लागि एकपैसा आम्दानी गरिदिने वाला छैनन् । 

मासिक तलव अर्बौं रुपैयाँ जाने भइसकेको छ । त्यसमाथि सु–शासनको धज्जी उडाउन सबै लागिपरेका छन् । भ्रष्टाचार रोकिने ठाउँ छैन । 

यो हालतमा ओलीले धमाधम फुस्रा भाषण गरिरहेका छन् । सिंगापुर एक क्षणमा बनेको हो ? पाँच वर्षमा बनेको हो ? 

होइन । बर्षौं लाग्छ एउटा सानो क्षेत्र बनाउन पनि । तर ओली पटक पटक जिस्किरहेका छन् । त्यो पनि गरीव जनतासंग । 

वेरोजगार युवासंग जिस्किरहेका छन् । उनले प्रधानमन्त्री भएपछि संसदमा बोलेका विचारले एकपटक फेरि नेपालीको मन छोएको थियो । 

तर ओली कहींकतै पनि गम्भीर छैनन् भन्ने यसले देखाएको छ । फिल्मी दूनियाँमा मात्र मानिस अवास्तविक (भर्चुअल लाइफ) बाँच्न सक्छ । 

वास्तविक जीवनमा कुनै पनि सानो चिजलाई स्थापित गर्न कठिन हुन्छ । 

ओलीको पहिलो कार्यकाललाई नै सम्झने हो भने उनले धेरै बाचा गरे । के पुर्याए ? 

अहिलेसम्म नेपाल तुइनमै हल्लिएको छ । कति तुइन विस्थापित भए ? भूकम्पले थिलोथिलो भएका नेपालीहरु अझै पनि खुल्ला आकाशमा छन् । कसलाई घर बनाएर दिए ? 

बस् ओलीलाई चिन्ता धरहराको थियो । धरहरा बनाउन आफैले पहिलो खाता खोलेर पैसा जम्मा गरे । तर के भयो त त्यो धरहराको पनि ? 

कुनै एक नेपालीका लागि कहाँ लगानी गरे ओलीले ? 

छन्छन् गनेर नगदमा हिसाब–
संसद बैठकमा काँग्रेस सांसद गगन थापाले भनेका थिए कि प्रधानमन्त्री भइसकेपछि पहिले जस्तो जेपायो त्यही बोल्न पाइँदैन । अब त हरेक बोलीको हिसाबकिताब हुन्छ । छन्छन् गनेर नगदमा हिसाब लिने हो भनेका थिए । 

तर प्रधानमन्त्री ओली झन् बढी सुरिएका छन् । भाषणबाजीमा झन् आक्रामक देखिएका छन् । उनलाई आराम भन्ने नै छैन । जहाँ पनि पुगेका छन् । केवल भाषणका लागि । 

यो भाषण कसका लागि । यो त काम गर्ने बेला हो । दोस्रो पटक प्रधानमन्त्री भएको व्यक्तिका लागि हनिमुन पिरियड (१०० दिने समय) को अर्थ हुँदैन । 

पाँच वर्षका लागि दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेपछि उनलाई जुनसुकै काम गर्नका लागि पनि विपक्षीले रोक्ने देखिँदैन । तर ख्यालठट्टा यति बढी भइसक्यो कि प्रतिकारमा कोही उत्रिएका जस्तो देखिन थाल्यो । 

कार्यकर्तालाई श्रममा नलगाउने नेपाल नै होला । वेरोजगार युवा उत्तिकै छन् । शिक्षाको अर्थ नै हुन छाड्यो । स्नातकोत्तर गरेका कति युवा बेरोजगार भएर बसेका छन् कहिल्यै ओली कम्पनीले सोच्यो ? 

रोजगारीका लागि विदेसिने क्रम रोकिएको छैन । र, अझै पनि भन्न छोडेका छैनन् नेपालमै रोजगारीको सिर्जना हुन्छ । 

पाँच वर्षमा ९ हजार नेपालीहरु विदेशमा रोजगारीका क्रममा ज्यान गुमाउन पुगे । यहाँ ओलीलाई अझै पनि मजाक छ । 

एक राजनेताले देशका लागि काम गर्ने हो । जुन व्यक्ति प्रधानमन्त्री हुन्छ उसले आफ्नो दललाई समेत प्राथमिकता दिँदैन । 

दुर्भाग्य ओली कलाकार जस्ता देखिएका छन् । जहाँ जान्छन् भीड जम्मा हुन्छ अनि मनोरञ्जन लिएपछि आफ्नो बाटो लाग्छन् । 

मुलुकले धेरै परीक्षण भोग्यो । अब त नतिजा खोजेको छ । हावामा महल बनाउनु, नेपालमै पानीजहाज चलाउनु, काठमाडौंमा मोनोरेल कुँदाउनु.....आदिआदिले नेपाली आजित भइसके । 

शुद्ध एक क्षण स्वास फेर्न नपाएर कति नेपालीले अकालमा ज्यान गुमाइसकेका छन् । 

सडक राम्रो नभएर दुर्घटना उत्तिकै भएको छ । महानगरपालिकामा एउटै मार्गलाई दशौं पटक खनिन्छ वार्षिक । 

पारदर्शीता शून्य बराबर छ । गैरजिम्मेवारी उत्तिकै छ । हो, प्रधानमन्त्री एक्लैले सबै काम गर्न सकिँदैन । 

तर भाषणबाजी कम गरेर देशका लागि सोच्ने समय छुट्टाउन त सकिन्छ नि । 

सिंगापुर त्यो स्थितिमा पुग्न वर्षौं लागेको हो । नेपाललाई पहिले एउटा लिकमा ल्याउन सक्नुपर्यो । कार्यकर्ता तताएर देश बन्दैन । 

केपी ओली सबैका प्रधानमन्त्री बन्न सकुन् । यस्तो नहोस् आफ्नो बोलीले आफैलाई ढालोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ