arrow

दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

किमका लागि यो ठूलो अवसर : राष्ट्रपति ट्रम्प

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
kim-korea.jpg

वासिङ्टन । उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ ।

यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा जानकारी दिएका हुन् । उनले बिहीबार उक्त मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा भने– दुई कोरियाबीचको आसन्न सम्मेलनका कारण अमेरिकासँगको आगामी बैठक पनि थप सहज हुनेछ ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस बैठकको कार्यक्रम सार्वजनिक गरेका छन् । नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सो बैठकअघि अमेरिकी विदेश मन्त्रालयको यो भनाई आएको हो ।

प्रवक्ता हाइदरले भने– हामीले उत्तर कोरियासँग विश्वासका आधारमा वार्तागर्ने तयारी गरिरहेका छौँ र हाम्रो विश्वासअनुरुप उत्तर कोरियापनि आओस भन्ने हामी चाहन्छौँ ।

उनले यस वार्ताकै विषयमा उत्तर र दक्षिण कोरियासँग कैयौँ पटकसम्म फोनमा कुराकानी पनि भएका जानकारी सो अवसरमा दिएको प्राप्त समाचारमा जनाइएको छ ।

यस्तै गत बुधबार मात्र पनि ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुदै गएको जानकारी दिएका थिए ।


राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमका लागि यो राम्रो अवसर भएको स्पष्ट गरे । किमले कोरियाली प्रायद्वीमा अब मानवीयताका आधारमा सोच्नुपर्ने पनि बताए ।

उनले भने– ‘उत्तर कोरियाका लागि यो राम्रो अवसर हो, अब यसलाई कसरी सदुपयोग गर्ने र कोरियाली प्रायद्वीपको विषयमा अब विश्व समुदायसँग कसरी अघिबढ्ने भन्ने बारेमा नेता किमले नै बुझ्नुपर्दछ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए ।

हालैमात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाई आएको छ ।

उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ