arrow

खुम बहादुर खड्कालाई भेटेर फर्केपछिको अनुभुति, इन्फेक्सन नै भयो काल

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
khum-bahadur.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको साँढे दुई बर्ष अघि किड्नी ट्रान्सप्लान्ट भएकै अस्पताल अपोलोमा शुक्रवार साँझपख निधन भएको छ। साँढे दुई बर्ष अघी किडनी ट्रान्सप्लान्ट गरेको डाक्टरहरुको समुहदेखि अन्य विशेषज्ञ समुह नै पछिल्लो पटक उपचारमा संलग्न भएपनि उनलाई बचाउन सफल भएनन्। 

किड्नी ट्रान्सफ्लान्ट गरेका व्यक्ति आफैमा संक्रमणको खतरामा हुन्छन। खड्का बेलाबेलामा यहि संक्रमणको शिकार हुन्थे। नसा नसामा राजनीति रहेका उनले संक्रमणको जोखिम पनि उठाउथे। आफू उमेद्वार बन्न नपाए पनि संसदको टिकट वितरणताका उनी निकै सक्रिय थिए। तत्कालिन प्रधानमन्त्री तथा काँग्रेस सभापतिको सरकारी निवास वालुवाटारमा रातीसम्म भएका वैठकमा उनी सहभागि हुन्थे। त्यसताका उनी सामान्य विरामी परेका थिए। केहि समयको उपचार पछि उनी ठीक भए। 

पछिल्लो पटक विरामी भएर नर्भिक अस्पताल भर्ना हुँदा भने उनी किड्नीको उपचारको लागि नभएर ब्रेनमा देखिएको समस्याका लागि उपचार गर्न गएका थिए। ५ दिन नर्भिकमा उनको उपचार भएको थियो। टाउकोमा देखिएको  संक्रमणलाई सामान्य घटाएर अस्पतालले थप उपचारका लागि दिल्ली रिफर गरेको थियो। 

टाउकोमा संक्रमणपछि ब्रेनमा देखिएको सानो गाठोका कारण खड्कालाई खुट्टा टेक्न नसक्ने गरि अप्ठ्यारो भएको थियो। उनको अनुहार सुनिएको थियो। जीउ पनि सुनिएको थियो। मृगौला प्रत्यारोपण गरिएका खड्काको दिमागी संक्रमण भए लगत्तै उनको शरीरमा अस्वभाविक रुपमा पीडा बढेको थियो। 

नर्भिकमा केहि दिन राखेर दिल्लीमा पुर्‍याउने वित्तिकै अपोलोका चिकित्कहरुले पहिला ब्रेनमा देखिएको संक्रमण हटाउने प्रयास गरेका थिए। डा मुकुल वर्माले उनको टाउकोमा देखिएको संक्रमण हटाउने कामको नेतृत्व गरेका थिए। केहि दिन उपचार पछि उनको टाउकोको संक्रमण घट्दै गएको उनको मृगौला प्रत्यारोपण गरेका टीमका डाक्टर सन्दिप गुलेरियाले जानकारी गराएका थिए। चिकित्सकहरुले केहि दिनमा डिस्चार्ज हुने र वाँकी उपचार दिल्लीमै बसेर गर्ने जानकारी पनि परिवारजनलाई पनि गराएका थिए। परिवारजन पनि सो जानकारी पछि खुसी थियो। 

Image may contain: 2 people, people sitting

खड्काको भारतमै रहेकी छोरी डाक्टर पुनम पनि पिता खुम बहादुर खड्काको उपचारका लागि प्रवन्ध र समन्वयमा थिइन।  अस्पतालबाट डिस्चार्ज गरेरै उपचार गर्न सकिने भनेको भोलिपल्टै खड्कालाई नयाँ संक्रमण देखियो। दिल्लीमा अपोलोमा भर्ना भएदेखि नै आइसियूमा राखेर उपचार भइरहेको थियो। अचानक उनलाई स्वास फेर्न गाह्रो हुन थाल्यो। डाक्टरहरुले फोक्सोमा संक्रमण भएको पत्तो लगाए। 

टाउकोमा भएको संक्रमण हटाउने क्रममा हाइडोजको औषधी दिइएको थियो। त्यसक्रममा आइसियूमा रहेका खड्कालाई विस्तारै निमोनिया समेत भयो। अपोलोका प्रवन्ध निर्देशक अशोक वाजपेयीले टाउकोको संक्रमण हट्नै लाग्दा छातीमा संक्रमण बढेपछि डा राजेश चावलाको नेतृत्वको छातीरोग विशेषज्ञको टोली उनको उपचारमा थपियो। सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटर थपियो। कफ निस्कन नसक्ने भएपछि घाँटीमा प्वाल पारेर कफ निकालियो। खाना खान नमिल्ने भएपछि नाकबाट खानालाई झोल बनाएर खुवाउन थालियो। हेर्दाहेर्दै खड्काको अवस्था क्रिटिकल भयो। 

नेपाली काँग्रेसले निर्णय गरेर खड्काको अवस्था बुझ्न पठाएका काँग्रेस नेताहरु रमेश लेखक र शंकर भण्डारीसँग चैत्र १३ गते अपोलोका प्रवन्ध निर्देशक वाजपेयी भन्दै थिए एउटा उपचार गर्दा अर्को समस्या थपिदै गयो। मृगौला प्रत्यारोपण गरिएका खड्काको प्रतिरक्षा प्रणाली उसैपनि कमजोर थियो। पछिल्ला समयमा देखिएको संक्रणको उपचारका क्रममा दिइएको उच्च क्षमताका औषधीले कलेजोमा समेत सम्स्या देखिएपछि डाक्टरहरु चिन्तित भएका थिए। 

कलेजोमा समस्या देखिनु  अघी अस्पतालजन्य संक्रमण भएको खड्काकी छोरी पुनमले पनि बताएकी थिइन। पिताजीलाई एक पछि अर्को संक्रमण बढ्दै गाह्रो गएपछि उच्च अध्ययनका क्रममा बेलायतमा रहेका भाइलाई पुनमले दिल्ली बोलाएकी थिइन। स्नातकोत्तरको अन्तिम परिक्षा दिइरहेका खड्काका छोरा दिल्लीमा केहि दिन बसेर परिक्षा दिन बेलायत गएका थिए। तर संक्रमण बढ्दै खड्कालाई गाह्रो भएपछि दीदीले भाइलाई बोलाएकी थिइन। पत्नी शिला पतिको लागि दिनरात नभनी लागेकी थिइन। मन्दिरमा पूजा गर्न पनि भ्याएकी थिइन। निकै थकित थिइन तर लागिपरेकी थिइन। पार्टीसँग गुनासो थियो नेताहरु देख्ने वित्तिकै पोखिन पनि। 

Image may contain: 1 person, standing

अपोलो पाँच तारे सुविधायुक्त अस्पताल हो। नेपालका वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली सहितका कैयन नेपालीहरुको पनि त्यहाँ उपचार भएको छ। अहिले पनि प्रत्येक महिना करिव ३ सय नेपाली उपचारका लागि अपोलो पुग्ने गरेको वाजपेयी बताउँछन्। अस्पताल अत्यन्तै सफासुग्घर छ। संक्रमण हुने अवस्था देखिन्न। तर खड्कालाई अस्पतालजन्य संक्रमण नै भयो। जसका कारण उनलाई एक पछि अर्को एन्फेक्सन अर्थात संक्रमण घटाउन औषधी चलाउँदा कलेजोमा समेत असर पुग्यो। यसले खड्कालाई मृत्युको मुखैमा पुर्‍यायो। 

अस्पतालजन्य संक्रमण भएको पत्तो पाएपछि तुलनात्मक रुपमा महंगो समेत रहेको अपोलोबाट सरकारी अस्पताल एम्समा लैजान पुनम सहित खड्का परिवारले चाहेको थियो। काँग्रेस पार्टी सभापति शेर बहादुर देउवा र महामन्त्री डा शशांक कोइरालाले आफ्नो प्रभाव प्रयोग गरे। भारतमा रहेका लेखक र भण्डारी सहितका नेताहरुले समन्वय गरे। एम्समा सबै बन्दोवस्ती भएपछि उनलाई लैजाने अन्तिम तयारी भइरहँदा थप अरु संक्रमण हुन सक्ने भन्दै चिकित्सकरुले अस्पताल सार्ने मञ्जुरी दिएनन। बरु केहि दिनपछि संक्रमण केहि घटेमा लैजान सक्ने बताए। एम्सका डाक्टरहरुले पनि सोहि कुरामा सहमति जनाए।

खड्काको लागि १४ चैत्रबाट एम्सको आइसियू स्ट्यान्ड वाइ रह्यो। यता अपोलोमै खड्का जीवन मरणको दोसाँधमा अन्तिम युद्ध लडिरहेका थिए। जस्तासुकै अप्ठयारा र लडाइहरुमा पनि जुध्दै कार्यकर्तामाझ अलग छवी बनाउदै लोकप्रियता पनि कमाउन सफल खड्का आफ्नो अन्तिम लडाइमा भने विजयी हुन सकेनन्। 

आइसोलेसनमा राखेर उपचार गराइहरेका बखत उनलाई टाढै सीसाबाट हेर्नेहरुलाई आखाँले केहि बताउन खोजिरहेको झै देखिन्थ्यो। मुखले आवाज निकाल्न खोजेपनि आवाज आउँदैनथियो। उनलाई हेरेर फर्कनेहरु कतै पनि उत्साहित हुने अवस्था थिएन। डाक्टर गुलेरिया चिकित्सक भन्दा पनि ठूला भगवानको भरोसा मात्र रहेको बताउँथे। हामी उपचार त गर्छौ तपाइहरु पनि भगवानको पुकारा गर्नुस उनले भनेका थिए। नेपाल तथा भारतमा उनका शुभचिन्तकहरुले मन्दिर मस्जिदमा गएर पुकारा पनि लगाए। तर ति पुकारा अनि उपचार केहिले पनि काम गरेन। आखिरमा सबैमाथि काल नै हावी भयो। 

Image may contain: one or more people, people sitting and indoor

अनेक अप्ठ्यारा परिस्थितिमा पनि प्रभावशाली भुमिका बनाएका खड्काको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षती पुग्ने छ। साथै उनले पछिल्ला समयमा उठाएका मुद्धाहरु पनि  पार्टीमा कमजोर पर्न सक्ने आशंका गरिएको छ। खड्का व्यक्ति मात्र होइन भन्ने अभियान हो भन्ने कुरा पछिल्ला दिनमा पुष्टी भएको उनका निकट काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी बताउँछन।  खड्काको मृत्यु पछि हिन्दु राष्ट्रको उनले उठाएको एजेण्डा अब भण्डारी जस्तै उनका निकटहरुमा आएको छ। 

विगतमा भ्रष्टाचारको मुद्धा खेपेका र सजाँय पाएका नेपालका सिमित नेतामा परेका उनी कैयन भ्रष्टचारी नेताहरुलाई बोकेर हिड्ने हाम्रो समाजका लागि ' भ्रष्ट पात्र ' थिए। सजाय भुक्तान गरि राजनीतिक जीवनमा पुन फर्केका काँग्रेस नेता एक  कुशल संगठक, राष्ट्रवादी थिए। नेपालका सन्दर्भमा हिन्दुत्व र राष्ट्रवादलाई सँगै लएर हिड्ने उनको प्रयासमा उनका निकट रहेका बुद्धिष्ट र मुसलमान  नेतृत्वले पनि साथ दिएका थिए। 

कैयन एजेण्डा र प्रसङगहरुलाई आफैसँग लिएर गएका खड्का नेपाली राजनीतिमा आफ्नो प्रभावशाली व्यक्तित्वका कारण चिनिएका थिए। त्यो पहिचान उनको मृत्यु पछि पनि कायमै छ। स्वर्गीय खुम बहादुर खड्काप्रति हार्दिक शब्द श्रद्धा। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ