मूर्ति बनाउने माटोका लागि प्रसिद्ध स्थानकै जात्रा संकटमा
आयस्रोत नहुदा चन्दा संकलन, गुठी सबै मासिएपछि खट बोक्ने कोही ठडिएनन्
प्रकाशित २०७४ चैत १७ शनिबार
459
Shares
काठमाडौं । काठमाडौ उपत्यकाका मन्दिरमा रहेका कलात्मक एवं सून्दर मूर्ति निर्माणमा प्रयोग हुने माटोका लागि प्रसिद्ध स्थान म्हयपीमा, योगाम्बर जात्रा मनाइँदैछ ।
काठमाडौँको म्हयपी अजिमा, जसलाई योगाम्बर वा ज्ञानेश्वरी पनि भनिन्छ । चैत्र शुक्ल पूर्णिमाका दिन यीनै देवी लगायत अष्टमातृका देवीसँगै १२ देव देवीको खट जात्रा मनाइन्छ ।
ब्रहायणी, बैष्णवी, बाराही, इन्द्रायणी, भैरबी, महाकाली र चामुण्डा लगायतका अष्टमातृका तथा गणेश भैरव सिंहिनी एवं व्याघिनी गरी १२ देवताको मुकुटलाई एउटै खटमा राखेर जात्रा गरिन्छ । यसका लागि सबै मुकुटलाई पूर्णिमाको पूर्वसन्ध्यामा म्हयपी मन्दिरबाट झिकेर खटमा राखिन्छ ।
पूर्णिमाका दिन खटलाई म्हयपीका विभिन्न स्थान परिक्रमा गर्ने प्रचलन रहेपनी आजकल खट बोक्ने मान्छेको अभावले म्हयपी नगरमात्रै परिक्रमा गर्न थालिएको छ । यो खट जात्राका क्रममा म्हयपीबाट ठमेल, पकनाजोल, लैनचौर, नयाँबजार, कालधारा सम्म पुर्याई त्यहाबाट फेरी म्हयपी पुर्याउने परम्परा थियो ।
खट बोक्ने मान्छेको अभावका कारण यो नगर परिक्रमा एक दशकबाट रोकिएको छ । यो जात्रामा अहिले रुट छोट्याएर म्हयपीबाट त्यौद हुँदै तलाछे टोलमा पुर्याएर फेरी म्हयपीमै फर्किन गरिएको छ । जात्राका लागि करीब ९० वर्षअघिदेखि प्रजापति खलकले खट बोक्ने गर्दै आएपनि आयस्रोतको अभावले विगत एक दशकदेखि उनीहरुले यो काम गर्न छाडेका छन् ।
पहिले यो जात्रा सञ्चालनका लागि विभिन्न गुठी र जग्गाको व्यवस्था गरिएको भएपनि ती जग्गा मासिदै गएपछि अहिले जात्रा सञ्चालनमै समस्या भएको छ । हाल यो जात्रा सञ्चालनका लागि चन्दा संकलन गरी मनाउने गरिएको छ । स्थानीय तलाछे टोल सुधार समितिको सक्रियतामा चन्दा संकलन गरी जात्रा मनाउने गरिएको छ ।
पूर्णिमाका दिन जात्रामा सहभागि भएका सबैलाई समयबजी खुवाउनुपर्ने लगायत जात्राका लागि आवश्यक पुजाविधिका लागि वार्षिक करिब ६० हजार लाग्ने गरेको स्थानीय बाजा खलककाबुद्ध राम महर्जनले बताए । जात्रा सञ्चालनका लागि दीर्घकालीन आर्थिक व्यवस्था नहुँदा अबका दिनमा म्हयपी जात्राले निरन्तरता पाउनेमा पनि शंका उब्जीएको छ ।
मूर्ति बनाउन प्रयोग हुने माटोका लागि प्रसिद्ध स्थान म्हयपी
म्हयपी, काठमाडौं उपत्यकाका अधिकांश कलात्मक र सून्दर मूर्ति निर्माण र मर्मतका लागि आवश्यक माटो लिने पवित्र स्थान हो । किम्वदन्ती अनुसार म्हेपी अजिमा, ज्यापुनीको रुपमा मानिन्छ । म्हयपी अजिमाको नाम आशामाँ थियो ।
पछि योगाम्बर वा जोगाम्बर नामले परिचित भइन् । आशामाँले आफु नांगै भै महादेवसंग अँगालो मारेर खुसि पारेर सिद्ध भएको मानिन्छ, त्यसैले योगाम्बर भनिएको संस्कृति सम्बन्धि जानकार राजेन्द्र श्रेष्ठ बताउँछन् ।
पछि एक जना तान्त्रिक गुरुले योगाम्बरलाई पुजा गरिरहेको बेला गुरुजुको पछि–पछि आउने गुरुजुकै छोराको भोग लिएर उसैको शरीरमा बसेकाले म्हयपी नामाकरण भएको मानिन्छ । म्हयपी मन्दिर अवस्थित डाँडाको माटो धेरै नै पवित्र मानिन्छ ।
यसै कारणले सेतो मछिन्द्रनाथ, पाटनको रातो मछिन्द्रनाथ, नाला करुणामय, कीर्तिपुरको बाघ भैरब, चोभारको करुणामय र विजेश्वरीको मूर्ति बनाउन अथवा जिर्णोदार गर्नका लागि म्हयपीको माटो नै लैजाने गरिन्छ ।