arrow

सिटौला भन्छन, ' काँग्रेसको संगठन निर्माण र परिचालनमा खुम बहादुरजीको योगदान स्मरणिय '

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
Sitaula.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको निधनमा नेपालको राजनीति क्षेत्र नै शोकाकुल छ। खड्कासँगै राजनीति गरेकाहरु उनको लोकतन्त्र र स्वतन्त्रताको लागि गरेको त्याग र वलिदान सधै स्मरणिय रहेको बताउँछन्।

नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला खुम बहादुर खड्का जीवनका अन्तिम घडीसम्म नेपाली राजनीतिको एक केन्द्रीय पात्रको रुपमा रहेको बताउँछन्। खड्काको अडान र प्रतिवद्धता नेपाली राजनीतिको लागि उदाहरणीय रहेको अनुभव छ सिटौलाको।

आफ्नो ब्रम्हले देखेको कुरामा अडिन सक्ने र त्यसका लगि अहोरात्र खटिनसक्ने क्षमता सबै काँग्रेसजनका लागि प्रेरणाको स्रोत रहेको उनले सुनाए। कतिपय आफूलाई सहि लागेको कुराको लागि नेतृत्वसँग जुध्न सक्ने क्षमता जो कोहि नेता कार्यकर्तामा नहुने तर खड्कामा त्यो अदम्य साहस रहेको सिटौलाले बताए।

पञ्चायतकालदेखि नै नेपाली काँग्रेसको संगठन र पञ्चायत विरोधी गतिविधीमा सक्रिय रहेका खड्का नेपाली काँग्रेसका कार्यकर्ताका लागि प्रिय खुम बहादुर दाई थिए। कार्यकर्ताका लागि सधै सहज पहुँचमा रहने खुम बहादुरजी आफूलाई संकटमा पारेर पनि कार्यकर्ताहरुको सहयोगको लागि तत्पर रहेको आफूले पाएको सिटौला सम्झन्छन। आफूलाई अहिले पनि खुम बहादुरजीको यहि गुणले प्रभावित गरिरहने बताए।

पटकपटक अस्पताल जानुपर्ने अवस्था अनि संक्रमणको खतरा हुँदाहुँदै पनि चुनावको टिकट वितरणको बेला रातीसम्म वालुवाटारको चीसोमा खट्ने आँट र जुझारुपन कमै नेतृत्वमा देखेको सिटौला सम्झन्छन्।

चुनाव पछि राजनीतिक रुपमा महत्वपूर्ण कुराकानी भएको र नयाँ ढंगले पार्टीमा काम गर्ने चर्चा गरेको भएपनि उहाँको स्वास्थ्यस्थिति ठीक नभएका कारण त्यसलाई टुङगोमा पुर्‍याउन नपाएको उल्लेख गर्दै सिटौलाले उहाँको अभाव नेपाली काँग्रेसमा सधै खट्किरहने बताए।

काँग्रेसको नेतत्वमा भएको हरेक संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याएका खड्का जननेता विपी कोइरालाका प्रिय विश्वासपात्र थिए। विपी कोइरालाको नेतृत्वमा रहेर नेपाली काँग्रेसमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका खुम बहादुरजी मेलमिलापको नीति लिएर विपीसँगै नेपाल फर्कने व्यक्ति मध्ये एक भएको सिटौलाले सम्झिए।   

विपी कोइरालाको विश्वासपात्र रहेका खड्का विपीको निधनपछि गिरिजाबाबुसँग अत्यन्तै निकट रहि नेपाली काँग्रेसको पार्टी संगठन र सरकार सञ्चालनको क्रममा काम गरेको सिटौला बताउँछन्। सिटौलाले भने, 'काँग्रेसको संगठन निर्माण र परिचालनमा खुम बहादुरजीको योगदान  सदा स्मरणिय रहनेछ। '

खुम बहादुरजीलाई गुमाउँदा परिवारका सदस्यलाई झै नेपाली काँग्रेसलाई अपुरणीय क्षती भएको उल्लेख गर्दै सिटौलाले स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन तथा काँग्रेस कार्यकर्ताप्रति समवेदना प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ