arrow

पाँच जिल्लाका पूर्वसेनाको सम्मेलन सम्पन्न

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
ex-army.jpg

काठमाडौँ । प्रदेश नं ३ का पाँच जिल्लाका १८ हजार ७०० भूतपूर्व सैनिकको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।

पूर्वसैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट शुरु भएकोमा आइतवार टुँडिखेलमा सम्पन्न भएको हो । यस बीचमा नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् ।

नेपाली सेनाले आयोजना गरेको सम्मेलनमा काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुरका पूर्वसैनिकको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनामा योगदान गरेकाका लागि हित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा पाँचै जिल्लाका पूर्वसेनाले कवाज प्रस्तुत गरे । सो अवसरमा काठमाडौँका सेनाले लाखे नाच, सिन्धुपाल्चोकका सेनाले शेर्पा, काभ्रेपलाञ्चोकका सेनाले तामाङ, भक्तपुर र ललितपुरका सेनाले नेवारी सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय अपांगता पुनःस्थापना समाजले २२ जना फरक क्षमताका मानिसलाई ‘ह्विल चेयर’ वितरण गरेको थियो । समाजले विसं २०७० देखि ‘ह्विल चेयर’ वितरण गर्दै आएको सो अवसरमा जानकारी गराइयो ।

नेपाल इन्भेष्टमेन्ट बैकको सहयोगमा उद्यम गर्न चाहने पूर्वसैनिक एवं तिनका परिवारलाई सहुलियत दरको ऋण प्रदान गरिएको थियो । कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी फत्तेबहादुर लिम्बूले पूर्वसेनाले पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न आह्वान गरे।

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्वसैनिकको सम्मेलन गर्ने नीति सेनाले कार्यान्वयनमा ल्याएको छ । द्वन्द्वमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको हो ।

मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा रहेको सेनाले जनाएको छ । सम्मेलनका क्रममा पूर्वसैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्वसैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । यसै अनुसार प्रधानसेनापति क्षत्रीलगायत उच्च सैनिक अधिकारीले आज टुँडिखेलमा पूर्वसेनाका कुरा सुने ।

पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ