रातो मच्छिन्द्रनाथको महास्नान : पञ्चामृतले नुहाइँदै
प्रकाशित २०७४ चैत १८ आइतबार
672
Shares
काठमाडौं । ललितपुरमा आइतबार रातो मच्छिन्द्रनाथलाई पञ्चामृतले नुहाइँदैछ । हरेक वर्षको वैशाख कृष्ण पक्ष प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई ललितपुरको लगनखेलस्थित डबलीमा लगेर महास्नान गर्ने परम्परा छ ।
महास्नानका लागि रातो मच्छिन्द्रनाथलाई तःबहाल मन्दिरबाट खटमा राखेर लगनखेलको बसपार्कस्थित डबलीमा पुर्रयाइन्छ ।
डमबलीमा मछिन्द्रनाथलाई राखेर मन्दिरका पुजारी पानेजुहरुले चार दिशामा बसेर महास्नान गर्छन् । रातो मच्छिन्द्रनाथलाई गाईको दुध, जल , बाग्मतीको चोखो पानी, घ्यू र महबाट बनाइने पञ्चामृतले महास्नान गराइन्छ । महास्नानका लागि ललितपुर बुंगमतिबाट सुवालहरुले पनि चाँदीका चार वटा घैलामा पानी ल्याउँछन् ।
मच्छिन्द्रनाथलाई महास्नान गरिने पञ्चामृत, २४ वटा माटोको कुलेचामा राखेर डबलीमा पुर्यारइने गुठी तहसिल कार्यालय पाटनका प्रमुख शैलेन्द्र पोखरेलले जानकारी दिएका छन् । माटोका कुलेचासँगै, काँसको १२ वटा थालमा घ्यू र मह, दुईवटा तामाको घडामा बाग्मतीको पानी, दूध, घ्यू, मह सहितको पञ्चामृत राखेर महास्नान गर्ने स्थानमा पुर्रयाइन्छ ।महास्थानका लागि झल्लर, कपडा लगायतका श्रृंगारका सामान बोकेर करीब २ सय लगनखेल पुग्ने गुठीका कार्यालय सहयोगी दिपक खवास बताउँछन् ।
रातो मच्छिन्द्रनाथको महास्नान गराउने बेला अपरान्ह लगनखेलको बसपार्क खाली गराइन्छ । त्यसपछि, डबलीमा चार जना पानेजुले चार दिशामा बसेर महास्नान गराइन्छ ।महास्नानका लागि प्राप्त पञ्चामृतले रातो मच्छिन्द्रनाथको शीर र शरीर होइन, पाऊमा स्नान गरिने हो । मच्छिन्द्रनाथको पाऊ चाँदिको छ ।
महास्नानका लागि बिभिन्न स्थानबाट प्राप्त पूजा सामग्री समेत प्रयोग हुनेछ । रातो मच्छिन्द्रनाथलाई महास्नान गराईँदै गर्दा, दर्शनका लागि ललितपुरकी कुमारीलाई पनि लगनखेलस्थित पाटीमा बिराजमान गराइन्छ । ललितपुरमा गत फागनुमा ५ वर्षीया निहीरा बज्राचार्य नयाँ कुमारी भएकी छन् ।
महास्नान गर्ने दिन नै रातो मच्छिन्द्रनाथको दश कर्म विधिका लागि आबश्यक सामग्री जुटाउनेहरु र रथ निर्माण गर्नका लागि आबश्यक सामग्री जुटाउने गरी करीब २ सय जति सहभागि हुने खवासले जानकारी दिएका छन् ।
महास्नान सम्पन्न भएपछि, मूर्तिलाई फेरी खटमा राखेर तःबहालको मन्दिर पुर्रयाइन्छ ।
महास्नान गराएकै दिनदेखि सर्बसाधारणलाई दर्शन गर्न रोक लगाइन्छ भने योसंगै दशकर्म पूजा पनि शुरु हुन्छ ।
महास्नान सकिएसँगै ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ बनाउन, ’हाम्वः कि स्वायेगु’ अर्थात् रथका लागि काठको जग हाल्ने काम हुन्छ । रथ निर्माणको जग हाल्न, बाराही, यँवाल र नाइके तःबहालको मन्दिरलाई परिक्रमा गरेर पुल्चाक पुग्छन् । उनीहरुले बलिपुजा सहितको विधि गरेर रथ निर्माणका लागि काठको जग हाल्ने काम गर्छन् ।
जग हालेको भोलीपल्टदेखि रातो मच्छिन्द्रनाथको रथ निर्माण काम शुरु हुन्छ । रातो मच्छिन्द्रनाथको रथ यात्रका नेपालकै सबैभन्दा लामो रथजात्रा हो । यो जात्रा छिटोमा २ देखि बढीमा ६ महिनासम्म पनि चल्ने गरेको छ ।
मच्छिन्द्रनाथको महास्नान र रंगरोगन गर्ने विशेष जाति नेमकुल
परम्परागत रुपमा नेवार समुदायका नेमकुलले, मच्छिन्द्रनाथको महास्नान गराउने महत्वपूर्ण जिम्मा पाएका थिए । रातो मच्छिन्द्रनाथको मूर्तिको मर्मत सम्भार गर्ने र रंगरोगन गर्ने काम पनि नेकु अर्थात् नेमकुलहरुकै थियो ।
नेमकुल समुदायले नै महास्नान सकेपछि सानो खटमा मच्छिन्द्रनाथलाई राखेर लगनखेलदेखि मच्छिन्द्र बहालसम्म बोकेर लैजाने परम्परा थियो । ललितपुरमा मात्रै होइन, काठमाडौं लगायत मच्छिन्द्रनाथको महास्नान र रथयात्रा गराइने ठाउँमा पनि नेमकुल समयुदायकै विशेष दायित्व थियो ।
तर ललितपुरमा मच्छिन्द्रनाथको महास्नान र रंगरोगन गर्दै आएका नेमकुल जातिका २ दाजुभाई उमेरका कारण काम गर्न नसक्ने अबस्थामा पुगेकाले उनीहरुले गर्दै आएको काम यतिवेला नेवार समुदायभित्रै अन्य जातिले सम्हाल्दै आएका छन् ।