काठामडौं । यसपालीको बोडे जात्रामा बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका छन । वैशाख २ गते हुने मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यो वर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका हुन ।
नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक बागश्रेष्ठले छैटौै पटक जिब्रो छेड्न लागेका हुन । बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयार भएको श्रेष्ठ बताउछन् । यसअघि २०६१ सालदेखि २०६४ सालसम्म र गएको बर्ष गरी ५ पटक जिब्रो छेडिसकेका छन ।
श्रेष्ठले आमाको निधनपछि २०६५ सालमा जिब्रो छेडेका थिएनन । बोडेकै जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडेका थिए । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।
बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा छ ।