काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको समाचार सार्वजनिक भएपछि तत्कालीन उपप्रधानमन्त्री कमल थापा झोंकिएका छन् ।
गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएकामा त्यसको माइन्युटमा कतै नदेखिएपछि थापाले यो ठूलो बेइमानी भएको समेत भनेका छन् ।
मुख्य सचिव लोकदर्शन रेग्मीले घुमाउरो भाषामा त्यस्तो कुनै निर्णय नभएको संकेत गरेपछि मुख्य सचिवप्रति इंकित गर्दै थापाले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘यो सफेद झुठ र बेईमानी हो । भूकम्पपिडितलाई थप १ लाख दिनेबारे स्वयं म र मूख्यसचिव भएर मन्त्रिपरिषदको निर्णय मस्यौदा गरेको हो र मूख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो । यदि निर्णयलाई माईन्युट नगरेको हो भने सो कार्य मूख्यसचिव र मन्त्रिपरिषद कार्यालयको बेईमानी हो । एकदिन सबैले मर्नुपर्छ, झुठ नबोलौं ।’
मूख्यसचिव रेग्मी पूर्वाग्रही भएर यसरी बेइमानी गरेको थापाको आरोप छ । यसअघि मूख्यसचिव रेग्मीलाई देउवा सरकारलाई नसघाएको आरोप लाग्दै आएको थियो ।
मन्त्रिपरिषदकै बैठकमा पनि रेग्मीले प्रतिपक्षी नेकपा एमालेलाई सघाएको आरोप लाग्दै आएको थियो । देउवा सरकारले गरेको यो निर्णयलाई माइन्युट नै नगरिएको पाइएपछि मुख्यसचिव रेग्मीको नैतिकता माथिसमेत गम्भीर प्रश्न खडा भएको छ ।