बिर्तामोड । अनुपा राई २०५८ सालदेखि सशस्त्र युद्धमा होमिएकी र युद्धका क्रममा छर्रा लागेर आफ्नो शरीरभरी छर्राको गोली बोकेर हिँडेकी छिन् । उनको निःशुल्क उपचार झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले गरिदिने सोमबार हस्पिटल परिसरमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
बिएण्डसी अस्पताल प्रशासनका अनुसार मंगलबार उनको शशिरमा भएका गोलीका छर्राहरु निकालिनेछ । अस्पतालका वरिष्ठ सर्जन पंकजराज नेपालले टाउकोकौ एउटा र घाँटीमा २ वटा छर्रा सुरुमा निकालिने बताए । शशिरका अन्य भागमा अरु छर्राहरु भएपनि यी छर्राहरुले पीडा दिएका कारण हाललाई २ वटा टाउको र घाँटीको छर्रा मात्र निकालिने अनुपाको शल्यक्रिया गर्ने डा. पंकजाराज नेपालको भनाई छ ।
पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङ घर भएकी पूर्व छापामार अनुपा राईको १५ वर्षदेखि आफ्नो शरीरमा लागेको गोलीको छर्रा निकाल्न बीएण्डसीले निःशुल्क अप्रेशन गरिदिने भएको हो । उनको शरीरमा लागेको गोलीको छर्रा निकाल्न लगभग ५ देखि ६ लाख लाग्ने र अस्पतालले निःशुल्क गरिदिने व्यवस्था मिलाईएको अस्पतालका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।
उनलाई २०५९ साल बैशाख २४ गते संखुवासभाको चैनपुर युद्धमा टाउको र देबे्र छातीमा गोली लागेको थियो । उन लागेको छर्राको पीडा १५ वर्षसम्म सहेर बसिन र उनलाई झन् बढी पीडा हुन थालेको छ ।
उनी भन्छिन्–‘कति पटक माओवादी सरकारमा गयो, मैले सबै नेताहरुलाई आफूलाई यस्तो भएको छ भने धेरै पटक पीडा पोखें तर सबैबाट केही गर्नुपर्छ भन्ने मात्र आयो तर कसैले पनि उपचारका लागि पहल गरेनन् दुःख लागेको छ ।’उनी अस्पतालाई धन्यवाद दिंदै भन्छिन्–‘मलाई अहिलेसम्म कसैले उपचार हुन्छ भनेका थिएनन् तर यो अस्पतालले मेरो उपचारमा यति धेरै चासो देखाएको छ अहिले म धेरै खुशी छु ।’
उनी अहिले पाँचथर हिलिहाङ गाउँपालिका–७ मा १२ वर्षीय छोरा रोविन विक्रम राई र उनकी बुढी आमासँग बस्दै आएकी छिन् । उनका पति मनकुमार राई पनि सँगै जनयुद्धमा होमिएको र उनीहरुको युद्धमानै विवाह भएको बताउँछिन् अनुपा । उनी भन्छिन्–‘दुवैजना पार्टीको जिम्मेवार पदमा थियौं, मलाई यस्तो भएपछि काम गर्न गाह्रो भयो अनि घरतिरै छौं ।’ उनी अगाडी भन्छिन्–‘घर व्यवहार चलाउन एकदमै गाह्रो भयो, जिम्मेवारी पनि बढ्यो, छोरालाई पढाउनुपर्ने, मलाई पनि उपचार गरिरहनुपर्ने त्यसैले घरव्यवहार चलाउनका लागि बैदेशिक रोजगारमा जानुभएको छ ।’
अनुपा २०५७ मा ओखलढुंगाको कुइभीर माविमा कक्षा ८ मा पढ्दै गर्दा जनयुद्धमा होमिइन्, त्यसबेला उनी मात्र १५ वर्षकी थिइन् । ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ’ उनले भनिन्–‘जनयुद्धकै क्रममा २०६२ सालमा मनकुमारसँग बिवाह भयो र ०६३ सालमा छोरा जन्मेपछि पार्टीको सैन्य फाँट छोडँे, र आफ्नो छापामार जीवनमा मैले पाँचवटा युद्ध लडेँ ।’
जस्तै २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले वीरतापूर्वक लडिन् । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भइन् । घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उनले लडेको अन्तिम युद्ध हो ।
‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन्, ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ लगेछन्, त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’ गोली लागेर बेहोस् भएकी उनी ६ दिन जंगलमै बसेर २१ दिनपछि मात्र पार्टीको सम्पर्कमा पुगेकी थिइन् ।
उनी शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर, काजकिरिया चाँही गरिएन घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुगिन् । तर, छर्रा निकाल्न सकिएन । जनयुद्धका घाइतेहरुलाई पार्टीले सहयोग गरेको थियो पाउनु भएन भन्दा उनी भन्छिन्–‘द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालयसम्म आएर फारम पनि भरें तर, अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति पाइन ।’
उनी भन्छिन्–‘हामीले लडेर देशमा अहिले यति धेरै परिवर्तन आएको छ तर पार्टीले सत्तामा पुगेपछि हामी जस्ता युद्धमा अंगभंग भएका र पीडितलाई हेर्नुपर्ने तर हेरेको छैन त्यसैले दुःख लागेकोछ ।’