arrow

पक्राउ परेका व्यक्तिको अवस्था सार्वजनिक गर्न आयोगको माग

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
National-Human-Rights-Commission.jpeg

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिइ अवस्था सार्वजनिक नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा यही चैत १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भएलगत्तै साँझ ६:२० बजे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिएको तर अवस्था सर्वाजनिक नभएको उल्लेख छ ।

नेपालको संविधानले कुनै पनि व्यक्तिलाई प्रदान गरेको न्यायसम्बन्धी हकको प्रचलनमा अवरोध नगर्न, मौलिक हक प्रचलनको सुनिश्चिततासहित अदालतको आदेशको सम्मान गरी पक्राउ परेका व्यक्तिको अवस्था अविलम्ब सार्वजनिक गर्न र सोको जानकारी आयोगलाई गराउन सम्बन्धित प्रहरी कार्यालयलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षणको सुनिश्चितताका लागि मातहतका निकायलाई निर्देशन दिन सरकारलाई र प्रहरीलाई आग्रह पनि गरेको छ ।

आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइए पनि सो सम्बन्धमा झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसीले उनीहरूलाई पक्राउ नगरेको भनी आयोगको टोलीलाई गराएको जानकारीबाट उनीहरूको अवस्था बेपत्ता रहेको विज्ञप्तिमा छ ।    

आयोगले सो सम्बन्धमा लिखित जानकारी माग गरी आयोगको विराटनगर कार्यालयले आजै सम्बन्धित सुरक्षा निकायसँग पत्राचारसमेत गरेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ