arrow

डिएनए परीक्षणसंगै जनावरसम्बन्धी मुद्दा  बढे

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
dna-test.jpg

ललितपुर । जनावरको डिएनए परीक्षण शुरु भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जनावरको विभिन्न भागको परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ । 

डिएनए परीक्षण शुरु भएयता मात्रै झण्डै ५० वटा जनावरसम्बन्धी घटना अनुसन्धानका लागि आएको प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झाले बताए । 

तीमध्ये वन्यजन्तुको ११ र गाईको चार गरेर १५ वटा मुद्दा डिएनए परीक्षणबाट अनुसन्धान गरिएको छ । अरू मुद्दामा भने अरू विधिबाट अनुसन्धान भइरहेको छ । 

प्रयोगशालामा पहिलेबाटै विभिन्न विधिबाट अनुसन्धान हुने गरेको छ । अरू प्रविधिबाट समाधान नभएका मुद्दाका लागि मात्रै डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । उनी भन्छन्, “अहिले जुनसुकै विधिबाट भए पनि समाधान हुन्छ भन्ने सोचेर होला मुद्दा आउन बढेको छ ।” 

जिल्लास्थित वन कार्यालय, वन विभाग, निकुञ्ज लगायतका स्थानबाट वन्यजन्तुसम्बन्धी मुद्दा आउने गरेका छन् । 

पहिले यहाँ उपलब्ध प्रविधिबाट नतिजा नआएपछि मुद्दा फिर्ता जान्थे । अहिले कुनै पनि मुद्दा फिर्ता पठाउनुपर्ने अवस्था छैन । उनी भन्छन्, “अहिले जनावरसम्बन्धी अपराधका मुद्दा छिन्न र सत्य–तथ्य पत्ता लगाउन सजिलो भएको छ ।” 

जनावरको स्वरुप परिवर्तन गरेर हुने चोरी वा एउटा जनावर भनेर अर्को जनावरको मासु बिक्री–वितरण लगायतका मुद्दा प्रयोगशालामा परीक्षणका लागि आउने गरेका छन् । 

मानव र जनावरको डिएनए परीक्षण एउटै उपकरणबाट हुने भएपनि सीप नहुँदा हुन सकेको थिएन । यहाँका वैज्ञानिकले सिकेर यही वर्षदेखि जनावरको डिएनए परीक्षण शुरु गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ