काठमाडौं । आश्चर्य लाग्न सक्छ कि पूर्ण बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पनि पेलिन सक्छ । तर भइरहेको छ त्यस्तै । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ओलीलाई पछिल्लो समय निकै पेलिरहेका छन् ।
ओलीको भारत भ्रमणको मिति तय भएपछि यादव एकाएक आक्रामक देखिएका हुन् । त्यसभित्र दक्षिणी हावाको प्रभाव परिरहेको स्रोत बताउँछ । नेपालका लागि भारतीय दूतावास (लैनचौर) स्रोतका अनुसार ओलीले धेरै आश्वासन देखाएर धोकाधडी गरिरहेकाले यसपटक त्यसलाई सम्झाउन यादवले ओलीलाई पेलिरहेका हुन् ।
फोरमकै एक नेता भन्छन्, ‘हामीलाई पनि खुशी पारिरहेजस्तो तथा भारतलाई पनि सरकार बलियो बनाउँछु मधेशलाई समेट्छु भन्ने आश्वासन दिएर आफूलाई बलियो बनाउन ओली जी तम्सिएकाले अध्यक्षज्यू अलि कडा हुनु भएजस्तो लाग्छ ।’
लैनचौर स्रोत र फोरमका नेताको भनाइलाई जुधाउने हो भने एक बिन्दूमा गएर सहमत हुन सकिन्छ त्यो हो प्रधानमन्त्री ओली भारतबाट फर्केपछि फोरमलाई सरकारमा समेट्नु ।
यसका लागि मन्त्रालय थप्ने गृहकार्यसमेत भएको छ । यसक्रममा ओली सरकारले संविधानसमेत मिच्न सक्ने देखिएको छ ।
केन्द्र सरकारले बढीमा २५ सदस्यीय (नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९) मन्त्रिपरिषद निर्माण गर्न पाउने बताइए पनि त्यो संख्या बढ्ने निश्चित जस्तै छ ।
फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा लगेर ओलीले आफ्नो सरकारलाई मजबूद बनाउन चाहन्छन् ।
त्यसका लागि संविधान नै संवोधन गर्नुपर्ने हुन सक्छ । अनि त्यही समय पारेर मधेशका केही माग संवोधन हुन सक्ने र ओलीले आफू सुहाउँदा केही संशोधन गर्न सक्ने आँकलन गरिएको छ ।
ती विषयहरु अहिले नै निक्र्योल भइनसकेको सरकारी उच्च स्रोत बताउँछ । त्यो दक्षिणी सल्लाहबाट पनि बन्ने हो कि भन्ने आशंका गर्न सकिन्छ । तर केपी ओली निकटका एक नेता भन्छन्, ‘यी सबै हल्ला हुन्, हल्लाको पछि नलाग्नुस्, प्रधानमन्त्री ज्यू पूर्ण सक्षम हुनुहुन्छ, कसैको सल्लाहको जरुरी पर्दैन ।’
उनले नयाँ कुरो चुहाए र भने, ‘भारत पहिले जाँदैमा तपाईको प्रश्न पूर्वाग्रही छ भन्ने बुझिन्छ, त्यसो होइन, प्रधानमन्त्री ज्यूले भारतीय प्रधानमन्त्रीलाई नै पहिले नेपाल ल्याउने सोच बनाउनु भएको थियो तर परिस्थिति केही बदलियो अन्यथा बढी नसोच्नुस् ।’
ती नेताको भनाइबाट पनि स्पष्ट हुन्छ कि ओली सरकारलाई भारतको ठूलो समर्थन छ । त्यो राम्रो पक्ष हो । त्यतिमात्र होइन ओलीलाई चीनबाट पनि उत्तिकै समर्थन छ । पछिल्लो पटक चीनले नेपालमा रेल जोड्ने योजना बनाएर राम्रो सन्देश दिएको छ ।
भारत जानुअघि चीनले दिएको सन्देश तथा मधेशी फोरम र राजपालाई सरकारमा समेट्ने ओलीको योजनाले वातावरण निकै सहज बन्दै गएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव यही कारण ओलीलाई आफ्नो पकड बलियो बनाउन सल्लाह दिइरहेका छन् ।
उनले छिमेकीजस्तो बन्न सल्लाह दिएर एजेन्डामा परिपक्व हुन सल्लाह दिइरहेका छन् । तर यो सल्लाह घुमाउरो पारामा आफ्नो पकड दिल्ली दरबारमा रहेको देखाउन भइरहेको भन्ने आम बुझाइ छ ।