arrow

६ महिनाभित्रै नेपालमा आधुनिक रेल कुदाउँछौं : मन्त्री महासेठ

‘५ वर्षभित्र नेपालले आफ्नै पानीजहाज चलाउँछ’

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
mahaseth.JPG

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढिमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीले त दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढिमा अबको ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउँछौं, अहिले द्रुत गतिले काम भैरहेको छ, दुई वर्षभित्र त हामी रेलमार्गको लागि धेरै काम गरिसकेका हुनेछौं, यो सरकारको चाहना पनि हो, जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पुर्याउँछौं, त्यसैगरि काठमाडौंबाट विरगंज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन विरगंज–काठमाडौं जोड्ने सोच बनाएका छौं, अरु त डिपिआर भएर काम नै सुरुवात भैसकेको छ।’

उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए । मन्त्री महासेठले थपे,‘यसको लागि हामीले धेरै डिपिआर बनाईसकेका छौं, कामहरु धमाधम भैरहेका छन्, त्यस्तै उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं र पोखरा र पोखरा र लुम्बिनी, हामी लुम्बिनीलाई केरुङ रुट र तराईबाट आउने रुटबाटपनि जोड्न चाहन्छौं, यदि त्यो मात्रैपनि जोड्न सक्यौं भने यसमा दुवै देश भारत र चीनलाई पनि फाईदा छ, नेपाललाई त हुने नै भयो।’

५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने उनले विश्वास दिलाए । उनले भने,‘हेर्नुहोस्, यो पाँच वर्ष त धेरै छोटो समय हो, जापानले बनाईदिएको सडक बनेपा–बर्दिवास १९८२ मा सुरु गरेको हो, तर २०१५ मा सम्पन्न भयो, हामीले त कम्तिमा पनि ५ वर्ष भनेर भनेका छौं, लुम्बिनीसम्म रेल पुर्याउन कम्तिमा पनि ५ वर्ष समय लाग्छ, त्यही भएर मैले यसो भनेको हुँ।’

मन्त्री महासेठले थपे,‘नेपालमा कुद्ने रेल भारतको रेल होईन, त्यो नेपालको रेल हुन्छ, नेपालमा कुद्छ, र आधुनिक रेल नै हामी कुदाउँछौं, तपाईहरुलाई भ्रम नहोस् कि रेलको नाममा जसरी पहिले चल्दैथियो त्यसलाई नै डेन्टपेन्ट गरेर होईन, हामी आधुनिक रेल नै चलाउँछौं।’

नेकपा एमालेका नेता समेत रहेका मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधिन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको सुनाए । ‘यो राजमार्गको लागि हामीले ६ खण्ड छुट्टयाएका थियौं, त्यसमध्ये एक खण्डको काम करिब–करिब सम्पन्न भैसकेको छ, ७० कि.मि.को एउटै सेक्टरमा त करिब पीच नै भैसकेको छ, १५१ पुलमध्ये ५२ वटा पुल पूर्ण रुपमा बनिसकेको छ, ६० पुल पूर्ण हुने चरणमा छन्, बाँकी रहेका पुलहरु नर्माणको लागि डिजाईनको अन्तिम–अन्तिम फेजमा छन्।’

यो पाँच वर्षभित्रमा आफूहरुले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ÷टोललाई जोड्ने उनको विश्वास थियो । उनले थपे,‘५ वर्षभित्रमा यो काम सम्पन्न गर्नेमा हामी विश्वस्त छौं, यसमा नेपाली जनताको पनि सहयोग भैरहेको छ, त्यस्तै सफ्ट लोनमा भारतबाट हामीले एक्जिट बैंकमार्फत भक्तपुर–नुवाकोट सडक र बालाजु–नुवाकोट सडक धेरै कामहरु भैरहेका छन्।’

नेपालको विकासमा भारतको पौराणिक कालदेखि सहयोग रहँदै आएको सुनाउँदै उनले थपे,‘विगतमा हामीबीच रहेको ऐतिहाँसिक र सुमधुर सम्बन्धलाई कायम राख्दै यो सरकार अझै धेरै मित्रताको अपेक्षासहित भारत भ्रमणमा जाँदैछ, हिजो जुन सानोतिनो कहीँ शंका तथा उपशंका थियो होला, यसपालिको भ्रमणले ती सबै समाप्त हुन्छन्, जुन हाम्रो बारेमा भारतविरोधी भनेर कु–प्रचार गरिएको थियो, यो पनि यसपालिबाट समाप्त हुन्छ, किनकी नेकपा एमाले र खासगरी वाम गठबन्धनको यो सरकार एउटा कुरामा के विश्स्त छ भने नेपाललाई दुवै मित्रराष्ट्रको समान सहयोग चाहिन्छ, भारतको पनि उतिकै सहयोग चाहिन्छ, जति चीनको चाहिन्छ, चीनको पनि उतिकै सहयोग चाहिन्छ, जति भारतको चाहिन्छ, नेपाली भू–भागलाई हामी कसैको विरुद्धमापनि प्रयोग हुन दिँदैनौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणका टोली सदस्य समेत रहेका मन्त्री महासेठले यस पटकको भ्रमणमा सन्धि÷सम्झौता हुने संभावना आफूले कमै देखेको सुनाए ।

मन्त्री महासेठले आफूहरुले देश र जनताको अहित हुनेगरि कुनैपनि काम नगर्ने विश्वास दिलाए । उनले थपे,‘देशको आर्थिक समृद्धिको दृष्टिकोणमा फड्को मार्ने कुरामा धेरै सहमति हुनसक्छ, हामीले पनि धेरै आशा गरेका छौं।’

त्यस्तै उनले पानीजहाज चलाउनेबारे पनि होमवर्क भैरहेको सुनाए । उनले भने,‘पानीजहाजको बारेमा पनि होमवर्क सुरु छ, गंगा नदिलाई हामीले प्रयोग गरेर, नेपालको आफ्नो पोर्ट हामी बंगलादेशमा राख्न सक्छौं, भारतमा पनि राख्नसक्छौं, हामी लिजमा राख्नसक्छौं, जसरी जयनगरको रेल–वे स्टेशन छ, भारत सरकारसँग हामीले १०० वर्षको लिज लिएर चलाएका हौं, त्यस्तै भारत सरकारसँग हाम्रो द्धिपक्षीय सहमति भयो भने कुनैपनि ठाउँमा हामी आफ्नो पोर्ट बनाउन सक्छौं, त्यस्तै बंगलादेशसँग पनि सहमति भयो भने हामी बनाउन सक्छौं, हाम्रो नजिकमा अहिले दुई वटा छ, एउटा कोलकत्ता बन्दरगाहा र विशखापटन छ, त्यो भन्दापनि नजिक कहाँ छ, यो सरकारले ५ वर्षभित्र पानीजहाजको पनि व्यवस्था गर्छ, त्यो पनि नेपालको झण्डा राखेर र आफ्नो पोर्ट बनाएर सरकारले पानीजहाज चलाउँछौं, तपाईहरु ढुक्क हुनुहोस्,।’

मन्त्री महासेठले एमालेलाई भारत विरोधी भनेर गलत प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै भने,‘हामी कहिल्यैपनि भारत विरोधी होईनौं, हामी हाम्रो अखण्डता, राष्ट्रियता र सार्वभौमिकताप्रति आफ्नो अडानमा बसेका छौं, भारत सरकारले पनि हामीसँग पञ्चशील सिद्धान्तको आधारमा व्यवहार गरोस्।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणमा देश र जनतालाई अहित हुनेगरि कुनैपनि सम्झौता नहुने स्पष्ट पारे । उनले थपे,‘देश र जनताको हितलाई केन्द्रमा राखेर हामी विकासका कुरा गर्छौं, हाम्रो लागि भारत र चीन दुवै उत्तिकै महत्व बोकेका मित्र हुन्।’ भारतबाट विगतकालदेखि नै नेपाललाई सहयोग रहँदै आएको उल्लेख गर्दै उनले थपे,‘नेपालमा हामीले रेलमार्गको कुरा उठाईसकेका छौं, यो भ्रमणबाट रेलमार्गको क्षेत्रमा अरु के बढाउन सक्छौं, त्यो त पछिको कुरा हो, अहिलेपनि भारतीय सहयोगमा जयनगर–जनकपुर–बर्दिवाससम्म रेलमार्गको लागि डिपिआर भएर काम सुरु भैसकेको छ, आउने असारभित्र वा आउने दशैंसम्म ब्रोडगेज आउँछ।’
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ