उपत्यकामा अप्रिल महिनाभर पर्ने पानी ५ दिनमै ओईरीयो
प्रकाशित २०७४ चैत २२ बिहिबार
350
Shares
काठमाडाैँ। केही दिनदेखि सूरु ‘प्रि–मनसुन’ अत्यधिक सक्रिय भएकाले काठमाडौंमा यो महिना औषत भन्दा धेरै पानी परेको छ ।
सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्नुपर्नेमा पाँच दिनमा नै ६५ दशमलव ६ मिलिमिटर पानी परिसकेको मौसमविद वरुण पौडेलले बताए ।
प्रिमनसुनी गतिविधि सक्रिय भएकाले अहिले धेरै ठाउँमा पानी परेको हो । हिजो काठमाडौंसहित मध्य र पश्चिमी भागमा बढी वर्षा भएको छ ।
काठमाडौं, पोखरा, भैरहवा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगरसहित पश्चिमी पहाडी र हिमाली भागमा बढी वर्षा भएको महाशाखाको भनाइ छ ।
यसैगरी , छिनमै पानी पर्ने र चिसो हावा बहने क्रम अझै केही दिन जारी रहनेछ । बिहान मौसम खुलेपनि केही दिन अझै दिउसो पानी पनै क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
विहिबार विशेषगरी पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । तर, हिजोको तुलनामा कम हावाहुरी र चट्याङ पर्ने मौसमविद पौडेलको दाबी छ । मौसमविदका अनुसार दुई–तीन दिनयता ‘प्रि–मनसुन’ अत्यधिक सक्रिय भएपछि विहानपछिका दिनमा बदलाव आएको हो ।
यस्तै अवस्था अझै केही दिन कायम रहने महाशाखाले जनाएको छ । तीन दिनयता भने स्थानीय वायुमा पश्चिमी वायुको प्रभाव भएकाले उपल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकास भएर असिनासहितको वर्षा भएको मौसमविदको विश्लेषण छ ।
बदलीका कारण एकाएक वायुमण्डल छोपिदा गर्मीले सताउनु पर्ने चैत महिनाका दिन पुस–माघजस्तै चिसा बन्न पुगेका छन् । प्रि–मनसुनी गतिविधि मार्च, अप्रिल र मेमा देशैभर प्रि–मनसुनी गतिविधि देखा पर्छ ।
मनसुन भने जुन दोस्रो सातादेखि (जेठ अन्त्य) देखि मात्र सुरु हुन्छ । यो प्रणाली केही दिनपछि सकिए पनि जेठ महिनासम्मै केही दिन बिराएर मध्याहनपछि हावाहुरी र बदलीसहित वर्षा हुने क्रम भने जारी रहने महाशाखाको भनाइ छ ।