arrow

प्रधानमन्त्री ओली 'सिंगडा खान' एक्लै मोदी निवासमा

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
pm-modi-pm-oli.jpg

नयाँ दिल्ली। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ। भ्रमणको कार्यसूची अनुसार शनिबार अपराह्न दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुने तय भएपनि प्रधानमन्त्री ओली शुक्रवार नै भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न पुगेका हुन्। 'सरप्राइज ' भेट भनिएपनि यो भेटको बारेमा प्रधानमन्त्रीले कार्यसूची सार्वजनिक नगर्न भनेका कारण यसअघी सार्वजनिक भएको थिएन। 

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भएको यो एकान्त वार्तालाई ओलीको 'सिंगडा' खाने भेटको रुपमा पनि धेरैले चर्चा गरेका छन्। स्वयं ओलीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको बिषयलाई हल्का ढंगले प्रस्तु गर्दै 'सिंगडा' खान जाने भनेर प्रश्न गरेका थिए। औपचारीक भेटको कार्यसूची भन्दा अलग्गै एकान्त वार्ता गर्न मोदीको निवासमै ओली जानुलाई अहिले त्यहि 'सिंगडा' मोहको रुपमा धेरैले अर्थ्याएका छन्।  

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दुई प्रधानमन्त्रीकाबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको र शनिवार औपचारीक वार्ता हुने बताएका छन्। शुक्रवार साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो । मोदीसँग भेट्नुअघि ओलीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले राष्ट्रपतिभवनमा भेटेका थिए।

मोदीसँग नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। ‘हामीबीच विकासमा साझेदारी र सहकार्य कसरी गर्न सकिन्छ भन्ने छलफल भयो, भारतीय प्रधानमन्त्री र मेरो समान धारणा रह्यो,’ प्रधानमन्त्री ओलीले होटेल इम्पेरियलमा आयोजित रात्रिभोजपछि पत्रकारसँग भनेका थिए। 

भारतसँग असमझदारी पहिल्यै हटेको भन्दै ओलीले अहिले केही नरहेको बताएका थिए। ‘असमझदारी छँदै थिएन, अहिले के हट्नु ?’ 

प्रधानमन्त्री ओलीले शनिवार भारतीय राष्ट्रपति उपराष्ट्रपतिसँग पनि भेट्नेछन्। प्रधानमन्त्रिसँग औपचारीक भेट हुनेछ। प्रधानमन्त्रीको सम्मानमा भारतीय राष्ट्रपतिले दिएको दिवाभोजमा पनि ओली सहितको भ्रमण दलका सदस्यहरु सहभागि हुनेछन्। 

भारतीय पक्षसँग विगतमा बढेको असमझदारीलाई हटाउन यो भ्रमण फलदायी हुने र सम्वन्ध अझ कसिलो हुने प्रधानमन्त्री निकटहरु दावी गर्छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ