ओलीको भारत भ्रमण सफल भयो त ? कहाँ भयो समस्याको समाधान ?
प्रकाशित २०७४ चैत २६ सोमबार
464
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण निकै उपलब्धीमूलक भएको फेहरिस्त सुनाइरहँदा महत्वपूर्ण कामहरु छाडेको पत्तो पाएनन् । उनी र उनको टिमले राजकीय भ्रमण निकै उपलब्धीपूर्ण भएको बताइरहँदा उनले गरेका सम्झौता र पुराना विषयको बारेमा छोडिएको चासोले केवल आश्वासनका पोका बाहेक उनी केही पनि बोकेर नआएको स्पष्ट भएको छ ।
सबैभन्दा महत्वपूर्ण रहेको सीमा विवाद, आयात निर्यातमा भइरहने अवरोध र डुबानको ठूलो समस्या बारेमा उनले केही पनि कुरा उठाएनन् । त्यसबारे भारतले पनि केही बोलेन ।
नेपालीहरु हरेक वर्षायाममा डुबानको र पटक पटक त्यस्ता आयात निर्यातमा अवरोध खेप्दै आएका छन् । त्यसैगरी सीमामा भइरहने विवादले नेपालका गन्नै नसकिने गरी सीमा स्तम्भ हराइरहेका छन् । यसबारे देशभक्तिको नारा घन्काएर नथाक्ने ओलीले चासै देखाएनन् ।
त्यसैगरी ओलीले विराटनगरको भारतीय क्याम्प हटाउने कुरा पनि गरेनन् । भारतले भैरहवामा बन्दै गरेको बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाइमार्गमा स्वार्थी भावना देखाइरहेको छ । त्यसबारे पनि ओलीले कुनै कुरा निकालेनन् ।
सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको परिकल्पना गरिएको थियो । त्यसबारे यसपटक पनि कुरामात्र भयो कुनै निर्णय भएन ।
महाकाली सन्धिअनुसार महाकाली नदीको पानी र त्यसबाट हुने लाभ कुनै पनि पूर्वसर्त नराखी बराबर बाँडफाँड हुने उल्लेख छ । तर, अहिले आएर पानीको बाँडफाँडका विषयमा नेपाल र भारतबीच कुरा नमिल्दा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंगिन सकेको छैन । यस्तो महत्वपूर्ण विषयमा ओलीले भारत गएर कुनै निर्णय गर्न सकेनन् ।
त्यतिमात्र होइन ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम भएको बताइयो । तर अन्तिम समयमा स्थगित भएको जनाइयो ।
भारतको सरकारी कम्पनी सतलज पावर लिमिटेडको लगानीमा बन्न लागेको आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिनुको कारण ओलीले बताएका छैनन् ।
ओलीको भारत भ्रमण सफल भयो त ?
ओलीले माथिका कुनै पनि महत्वपूर्ण बुँदामा कुनैमा कुरा नै नउठाउनु र कुनैमा यसो गरौं भनेर अडानसहित निर्णयमा पुग्न सकेनन् भने उनको भारत भ्रमणको औचित्य के रह्यो ?
यसै पनि नियमलाई मिचेर ओली भारत गएका हुन् । राजकीय भ्रमणमा एक वर्षमा एक पटकभन्दा बढी नजाने नियम छ । शेरबहादुर देउवा यसअघि प्रधानमन्त्रीको हैसियतले राजकीय भ्रमणमा गएको एक वर्ष पुगेकै छैन ।
ओलीले नियमहरू मिच्दै नेपालको हितका लागि भारत गएको बताए पनि खोइ त त्यसको उपलब्धी ?
राजनीतिक विष्लेषक विष्णु सापकोटा ट्वीटरमा लेख्छन् –‘एक–दुइटा बाहेक सधैं सबै जान्थे, प्रधानमन्त्री भएपछि। ‘राष्ट्रवादी’अवतारमा उदाएपछिका ओली जाँदैनन् कि (पहिलो भ्रमणको भेटी सुम्पन) भन्ने आश थियो तर उनी पनि गए। मिठासपूर्ण कुरा भएछन्, ठिकै भो। हाम्रो बिकास भारतले, चीनले गरिदेला भनेर आश गर्नेहरु पहिला पनि थिए, पछि पनि हुनेछन् । यत्ति हो !’
भारतले यो बनाइदिने र यसो गरिदिने भन्ने सहमति गरेर ओली फर्किए । तर दुई वर्षअघि यस्तै राजकीय भ्रमण गरेर फर्केका ओलीले त्यतिबेलाको सहमति के भयो भनेर तिनै मोदीलाई सोध्ने आँट गरेनन् ।
यसबाट स्पष्ट भयो कि ओली भारतका ‘खास मान्छे’ हुन् । यसपटकको भ्रमण भारतलाई सफल भए पनि नेपाललाई आशा देखाउने काम मात्र गरेको छ ।
राजनीतिक विष्लेषक खगेन्द्र संग्रौला ट्वीटरमा लेख्छन्, ‘ओली हिजो चीनतिर ढल्केर उँभैको रेल ल्याउने उद्घोषमा भयंकर राष्ट्रवादी भका थिए,आज भारततिर ढल्केर उँधैको रेल ल्याउने डिङ हाँक्दै छन्।ओलीको यो पिपलपाते प्रवृत्तिमा म त मोदीको चाकरी र चीनको उपहास पो देख्छु।के ओली चीनलाई झस्काउँदै भारतभक्तिमा पुनः मुसिको भव भा हुन् ?’
ओलीको यो प्रवृत्तिले अझ पनि नेपालको परराष्ट्र नीति र छिमेक नीति कमजोर छ भन्ने देखाउँछ । अनि कसरी सफल भयो ओलीको भारत भ्रमण ? कतै यो भ्रमणले झन् सम्बन्ध विगारेको त हैन ?