arrow

हुक्का चिलिमले....कति दिन ‘लाज’ छोप्ने सिंहदरबारले....!

अस्तव्यस्त डबली : हुक्का तानेर टक्का मार्ने ठाउँ !

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत २६ सोमबार
hukka_tanera.jpg

काठमाडौं । सिंहदरबार भन्नेवित्तिकै देशको सिंगो बागडोर रहेको ठाउँ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न विषयगत मन्त्रालयहरु सिंहदरबार भित्रै । कतिपय घरहरु पूराना राणाकालीन । निकै कलात्मक पनि ।

पछिल्लो समय भने भूकम्पले ति घरको शोभा विगारी दिएको छ । कतिपय घर त्रिपालले छोपिएको छ । सिंहदरबारभित्रै कुनै समय चर्चाको नाम थियो ‘डबली’ । अझ भनौँ, मुलुकमा राजतन्त्र हुँदा राजालाई सलामी दिइने ठाउँ । त्यो समयमा संसद बैठक सकिनेवित्तिकै चियापान हुने ठाउँ पनि हो त्यो । अनि त्यो बेला, मन्त्री, सांसदहरुको भेटघाटका लागि पनि उपयुक्त ठाउँ हो, डबली । सबैका लागि भने खुला हुँदैन थियो, भनिन्छ । यही ठाउँमा संग्राहलय पनि थियो । जहाँ जनावरको छालाले सजाईएको थियो । ऐना पनि राखिएको थियो । जसमा अनुहार विभिन्न खालको देखिन्थ्यो ।

२५ वर्षअघिको डबलीको के कुरा, त्यसैले त शाखा अधिकृत रवि महर्जन भन्छन्, ‘पहिले ज्यादै सून्दर थियो । अहिले कुरुप भयो ।’ भद्रगोल नै भएको छ । सिंहदरबारकै लाज भएकाे छ ।

राजतन्त्र ढलेसँगै डबलीको शोभा पनि ढल्यो भन्छन्, उनी । के अब यसको महत्व छैन ? उनले भने, ‘अहिले यो सिंहदरबार आउने मान्छेका लागि फोटो खिच्ने ठाउँ मात्रै बनेको छ ।’ यसको महत्व घट्नुको एउटा कारण संसद भवन बानेश्वर सर्नु पनि हो, भन्छन्, उनी । संविधान सभा निर्वाचनपछि ६ सय १ जना सांसद नअटाउने भएपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन बन्यो । अहिले पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संघीय संसद भवन कायम भएको छ ।

डबलीबारे कसैले चाँसो राखेनन् र कुरुप भयो भन्छन्, रवि । अब डबलीलाई प्रयोगमा ल्याउन सकिँदैन त? ‘नसकिने भन्ने कुरा हुँदैन । सबैले चासो राख्नु पर्दछ । आशा के गर्न सकिन्छ भने संसद फेरि सिंहदरबारभित्रै होस् भनेर’ उनको जवाफ थियो ।  

अहिले डबलीको हालखबर कसले राख्छ ? जवाफमा उनले भने, ‘भवन विभागले हेर्छ । सिंहदरबारभित्रका सबै भवन हेरचाह गर्ने जिम्मा उसैको हो ।’ सिंहदरबारभित्रको संसद भवन जीर्ण भएको छ । तर, संसदले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई विगत ११ वर्ष देखि भाडा तिर्दै आएको छ । पछिल्लो समय त सरकारले संसदको अब आफ्नै भवन हुने भनिरहेको छ । संसद भवन त नयाँ बन्ला तर, डबलीको हाल के होला ?

हुक्का तानेर टक्का मार्ने ठाउँ !
अस्तव्यस्त डबलीभित्र सरकारी पोसाक लगाएका कर्मचारीनै हुक्का तानेर बस्छन् भन्दा अचम्म मान्नु पर्दैन । भएको छ त्यस्तै । तस्वीर आफै बोल्छ । मानौ त्यहाँ भित्र कसैले कर्मचारीका लागि ‘बार’नै खोलिदिएको छ ।
तर, दायाँ बायाँ ‘बार’ त के । चिया पसल पनि छैन । कहाँ बाट ल्याएर तान्छन् होला हुक्का ? त्यो पनि कार्यालय समयमै । जेहाेस् टक्का मार्ने ठाउँ भएकाे छ, डबली । सुनिन्छ, स्वास्थ्य मन्त्रालयले आफ्नो कार्यालय परिसरभित्र खैनी चुरोट बोकेर प्रवेश गर्न दिँदैन । अनि केही समयभित्रै त्यो नियम सिंहदरबारभित्र छिर्दै छ, भन्ने पनि सुन्नमा आएको छ ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले सुरुमा कर्मचारीलाई नै कडाई गर्न कार्यविधि नै बनाएर सरकारलाई पठाउँदै छ भन्ने खबर थाहा पाएपछि सिंहदरबाभित्रै काम गर्ने केही कर्मचारीले ‘अब बल्ल रमाईलो हुने भो’ भनेका थिए । यस्तै क्रियाकलाप हुँदा रहेछन् र त, ति कर्मचारीले बल्ल रमाइलो हुने भयो भनेका रहेछन् । यहाँ कसैलाई सिकाउन वा पूर्वाग्रह राख्न खोजिएको हुँदै होईन। तर, सुशासन र सदाचारको उर्दी लगाइरहेको सरकारको नाकैमुनि यस्तो हुनु लज्जाजनक होइन र ?  कि सिंहदरबारले नै लाज मान्नु नपर्ने हाे ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ