arrow

जिल्लाका विषयगत कार्यालय खारेज, कार्यान्वयन हुन अझै समय लाग्ने

logo
प्रकाशित २०७४ चैत २८ बुधबार

काठमाडौं । जिल्लामा रहेका विषयगत कार्यालय वुधबारबाट खारेज भएको भनिएपनि स्थानीय तहलाई हस्तान्तरण गर्न अझै केही समय लाग्ने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज भएका सरकारी कार्यालयको सबै अधिकार र सम्पत्ति स्थानीय तह मातहत आएको भनेको छ । तर, व्यवस्थापनका कतिपय काम अझै भएका छैनन् । 
स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्ने कतिपय काम पूरा भइनसकेकोले त्यसमा समय लाग्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताएका छन् । 

कतिपय कार्यालयहरूको म्याद थपिएको छ, उनले भने, ‘कतिपय स्थानमा कर्मचारी खटाउने जस्ता मुख्य काम हुन नसक्दा ढिलो हुन गएको छ।’ स्थानीय तहले स्वामित्व ग्रहण गर्न समय लाग्ने उनको भनाई छ ।
स्थानीय तह सञ्चालन ऐन २०७४ लागू भएको ६ महिनाभित्र स्वास्थ्य, शिक्षा, कृषि विकास, पर्यटन जस्ता विषयगत कार्यालयहरू बन्द गरी तिनीहरूको अधिकार संघीय स्वरूप अनुसार स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको थियो। त्यो अवधि वुधबार सकिँदै छ ।

तर, कतिपय प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेकोले हस्तान्तरणमा समय लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्रवक्ता तामाङले अधिकार हस्तान्तरण गर्ने र लिने दुवै पक्ष पूर्ण रूपमा तयार भइनसकेकाले कतिपय व्यस्थापनमा समय लाग्ने र आउँदो असार मसान्तसम्ममा धेरै कुरा मिलिसक्ने बताए । 

उनले खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुने र केही सबै पूरा हुन समय लाग्ने जानकारी दिए । 
जिल्लामा रहेका साविक कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास, मालपोत, नापी, भूमिसुधार कार्यालय खारेज भएको भनिएको छ भने, जिल्ला शिक्षा कार्यालय भने अाउने असारसम्म कायमै रहने छ । खारेज भएका कार्यालयबाट हुँदै आएको काम अब स्थानीय तहमार्फत हुने मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ