arrow

पार्टी एकताका लागि प्रचण्ड टाढा कि ओली ? 

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
prachanda-oli.png

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता धुमिल हुँदै गएको छ । एकता गर्ने तिथि बैशाख ९ अर्थात् अप्रिल २२ सर्वसाधारणका लागि ‘अप्रिल फुल’ त हुने हैन भन्ने आशंका बढेको छ । 

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवस्थ भएको कारण बताउँदै संयोजन समितिको बैठक स्थगित भएको जनाइयो  । त्यसअघि पनि बैठक स्थगित हुँदै आएको थियो  । 

संयोजन समितिको बैठकमा राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुबै मस्यौदामाथि छलफल हुनुपर्ने छ । त्यसपछि मात्र दिशा अगाडि बढ्ने छ ।

प्रचण्डलाई के बिमार भयो भन्ने बताइएन  । जबकि बुधबार प्रचण्ड राजधानीमा भएको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाषण गर्दा देखिएका थिए । 

बिहिबार भने प्रचण्ड एकाएक चितवनमा झुल्किए । चितवनमा उनले चर्कै भाषण गरे । तर त्यो शैक्षिक भाषण थियो । उनले एकताका बारेमा शब्दहरु खर्चेनन् । 

बिहिबार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले झन् झस्काइदिए । उनले काठमाडौंमा गरिएको एक कार्यक्रममा भने ‘पार्टी एकता संयोजन समितिले एकताको तिथि घोषणा गरेकै छैन ।’ 

उनले दुबै पार्टीका नेताहरुको व्यवस्थापन नै मुख्य चुनौती रहेको बताउँदै एकता सजिलो नभएको सन्देश दिन खोजे । 

पछिल्लो समय निरन्तर बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण भएको बताइन्छ । 

ओलीको भारत भ्रमणले एकतालाई के असर गर्न सक्छ ? यसमै गम्भीर कुरा लुकेको छ । यसमा भारतको इच्छाशक्ति लुकेको विष्लेषण गर्न थालिएको छ । 

भारतले एमाले र माओवादीबीच एकता चाहँदैन भन्ने विष्लेषण वाम विष्लेषकहरुबीच नै हुन थालेको छ । सत्ता साझेदारको नाताले पनि ओलीले प्रचण्डसंग थप कुराकानी गर्न सक्थे । उनले केही पनि नगरेको गुनासो बढेको छ । 

शुक्रबार प्रचण्ड चितवनमै बस्नेछन् भने ओली शुक्रबार कर्णालीतिर हानिदैछन् । उनले शनिबार राराबाट राष्ट्रका नाममा संवोधन गर्नेछन् । 

दुवैबीच प्रहरी प्रमुख नियुक्तिका क्रममा केही समय वार्ता भए पनि पार्टी एकताका विषयमा गम्भीर देखिएका छैनन् । 

सत्ता साझेदारीकै क्रममा रहँदा सचिव सरुवामा दुवै दलबीच कित्ता काट्ने काम भएको भन्दै माओवादीका मन्त्रीहरुले चर्को विरोध जनाएका थिए । 

यसबाट प्रचण्ड झनै झस्केका छन् । एक चिनियाँ राजनीति निकट स्रोतका अनुसार चीनले ओलीको भारत भ्रमण र त्यसपछिका सरकारमा देखाएको कदमलाई निको मानेको छैन । 

के होला त अब एकता ? 
एक वाम विष्लेषकका अनुसार एकता हुन पनि सक्छ र नहुन पनि सक्छ । सबैभन्दा ठूलो कुरो कहाँ अड्कियो त भन्ने प्रश्नमा उनको सटिक जवाफ छ कि – ‘अड्कनलाई त कुनै काम पनि हुनु पर्यो नि !’

यसबाट बुझ्न सकिन्छ कि एकताको यथार्थ कति पानीमा रहेछ । माओवादीका एक नेता भन्छन्, –ओली ज्यूलाई भारत जान विरोध नहोस् भनेरै एकताको तिथि चैत २२ लाई निकालियो खोइ के भयो त परिणाम ?’ 

अब विगतलाई हेर्दै जाने हो भने एकता कुनै पनि हालतमा हुँदैन । 

दुई मुख्य नेताहरुको व्यस्तताले उनीहरुलाई काठमाडौमा भेटाउन कम्तीमा आइतबार लाग्नेछ । 

त्यसैले अझै दुई दिन एकतासम्बन्धी बैठक बस्ने छैन । एकताका लागि अनौपचारिक रूपमा तय गरिएको मिति बैशाख ९ आउने समय निकै कम रहँदा यो समयभित्र विवादित विषय टुंगो लगाएर उकता गर्न सम्भव छैन । 

पार्टीको नीति महाधिवेशनले तय गर्ने निर्णय गरिरहँदा अरु विवादित विषयलाई पनि थाँतीमा राखेर एकता गर्ने हो भने त्यो मितिभित्रै सम्भव देखिन्छ । 

तर हरेक विवादका कुराहरुलाई पछिपछि धकेल्ने हो भने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाइलाई सम्झनु पर्ने हुन सक्छ –‘यी लोभीपापी हुन् पद र पैसाका लागि जे पनि गर्छन्, राजनीति गर्ने त देशका लागि पो त !’

यहाँ एकताका लागि प्रचण्ड टाढा कि ओली टाढा भन्ने सन्दर्भमा ओली नै टाढिएको विष्लेषण गर्न थालिएको छ । भारतको भ्रमण नै यसको कारण रहेको माओवादी निकटका विष्लेषकहरुले बताउन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ