arrow

बिष्केट जात्रामा ५५ हातकाे लिंगो ठड्याइँदै 

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
bisket_n.JPG

काठमाडौं । भक्तपुरमा जारी बिस्केट जात्रामा शुक्रबार ५५ हात लामो लिंगो ठड्याइदैछ । शुक्रबार बिस्केट जात्राको चौथो दिन बिहान भक्तपुरको कुमाले टोलमा हात नभएको लिंगो  उभ्याइदैछ । यसैगरी शुक्रबार साझ भेलुखेलको योसिखेलमा ५५ हात लामो लिंगो ठड्याइँदैछ । 

लिंगो उठाउने स्थान भएकोले यो ठाउँलाई योसिखेल भनिएको हो । लिंगो बनाउन एक महिना अघि भक्तपुरको चित्तपोल वनबाट रुख काटेर ल्याएको थियो । तान्त्रिक बिधि अनुसार दश कर्म बिधान गरी भेलुखेलमा पुरानो बर्षको बिदाइ र नयाँ बर्षको स्वागतका लागि ५५ हात लामो लिंगो ठड्याइन लागेको हो । हरेक बर्षको अन्तिम दिन भेलुखेलमा ठड्याइने ५५ हात अग्लो लिंगो बैशाख १ गतेका दिन ढाल्ने परम्परा छ ।  

सौर्यमास अनुसार मनाइने भक्तपुरको बिष्केट जात्रामा प्रत्येक बर्षको चैत मसान्तमा लिंगो ठडयाउने र बैशाख १ गते ढाल्ने  परम्परा छ । बिस्केट जात्रा अन्र्तगत ठड्याइएको लिगोंको कोखामा झुण्डाइने २ ध्वजालाई बीरध्वजा भन्ने गरिन्छ। लिंगो  उभ्याउनका लागि बाँधिएका ८ डोरीलाई अष्टमातृकाको प्रतिक मानिन्छ । 
लिच्छवीकालमा सर्पलाई बि भनिन्थ्यो र स्यातः ले मर्यो भन्ने अर्थ लाग्छ । यही बिस्यात नै अपभ्रंस भै बिस्केट हुन गएको मानिन्छ । लिंगोमा राखिएका २ वटा ध्वजा पनि सर्पको प्रतिक रहेको संस्कृतिविदहरुको भनाइ छ । बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुने जनविश्वास छ । लिंगो उठाउनुअघि नै गहिटीमा राखिएको भैरबनाथ र भद्रकालीको रथलाई पनि योसिंखेलमा पुुर्याइन्छ ।

लिंगो ठड्याइएको देखाउन भैरबनाथ र भद्रकालीको रथलाई योसिंखेलमा पुुर्याउने चलन छ। भैरबनाथ र भद्रकालीको रथलाई त्यहाँ पुुर्याएसँग लिंगो उठाउने गरिएको छ। लिंगो उठनासाथ बाराही देवीको पनि जात्रा शुरु हुन्छ । 

आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा गएको २७ गते शुरु भएको हो । जात्राको अन्तिम दिन ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको भैरवको रथ तानेर पाँच तले मन्दिरको पश्चिम कुनामा राखिन्छ भने, बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधि अनुरुप पूजा गर्दै जात्रा सम्पन्न गरिन्छ । 

नेपाल सम्वत २६८ ताका भक्तपुर शहर स्थापना हुनुुभन्दा अघि नै बिष्केट जात्राको परम्परा शुरु भइसकेको विश्वास गरिन्छ । लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नाग नागिनी मारिएको खुशियालाीमा मनाउन थालिएको  र यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ ।  

त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भुपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको संस्कृतिविद् पुरुषेत्तमलोचन श्रेष्ठ बताउँछन् । शुरुमा बिष्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाउने गरिए पनि, मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ