arrow

आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न माग

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
aayurved.jpg

काठमाडौँ । मुलुकमा आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न यस क्षेत्रका विज्ञले सरकारसंग माग गरेका छन् । नेपालमा उपलब्ध अमूल्य जडीबुटीका कारण यहाँ आयुर्वेद चिकित्सा क्षेत्रको विकासको ठूलो सम्भावना रहे पनि सरकारको ध्यान नपुगेको भन्दै यस क्षेत्रका विज्ञले सो संस्थान स्थापना गर्न माग गरेका हुन् ।

उपलब्ध जडीबुटीको सदुयोग गरी देशभित्रै आयुर्वेदिक औषधिको उत्पादनका साथै यस चिकित्साको विकासका प्रचुर सम्भावनाअनुरुप सरकारले आयुर्वेदको विकासमा ध्यान नदिएको गुनासो उनीहरुको छ ।

नेपालमा संसारमै दुर्लभ मानिएका र औषधि निर्माणमा उपयोगी सयौँ जटीबुटी उपलब्ध भए पनि तिनको प्रयोग गरेर आवश्यक औषधि निर्माण गर्न आवश्यक जनशक्ति र उच्च शिक्षाको अभाव भएको गुनासो यसअघि पनि आयुर्वेद क्षेत्रका व्यक्तिको रहिआएको थियो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहने गरी आयुर्वेद अध्ययन संस्थानको स्थापना गर्न सकिएमा यसबाट नेपालमा उच्चस्तरीय प्राज्ञिक जनशक्तिको उत्पादन हुने र यसमार्फत देशमा आयुर्वेद चिकित्सा क्षेत्रको समयानुकूल विकासमा ठूलो टेवा पुग्ने विज्ञको सुझाव छ ।

त्रिभुवन विश्वविद्यालयले गत फागुन १६ गते गठन गरेको आयुर्वेद चिकित्सा क्षेत्रका विभिन्न दशजना विज्ञ सम्मिलित समितिले देशमा अत्यधिक सम्भावना हुँदाहुँदै पनि आयुर्वेद चिकित्सा क्षेत्रपछि परेकाले यस क्षेत्रमा उच्च प्राज्ञिक जनशक्ति उत्पादनका लागि यो संस्थानको स्थापना गर्न आवश्यक रहेको सुझाव दिएको छ ।

हाल नेपालमा आयुर्वेद विधामा प्रवीणता प्रमाणपत्रदेखि एमडीसम्मको पठनपाठन हुने गर्दछ । तर पनि अत्यन्तै सीमित साधन स्रोतका कारण अति नगण्य रुपमा मात्र पठनपाठनका व्यवस्था भएको छ, जसले गर्दा यहाँ आयुर्वेद चिकित्सा क्षेत्रका उच्च जनशक्तिको ठूलो अभाव हुन पुगेको छ ।

उक्त आयुर्वेद विज्ञ समितिका संयोजक प्रा डा चन्द्रराज सापकोटाले नेपालमा नयाँ शिक्षा लागू भएसँगै विसं २०३० देखि आयुर्वेद अध्ययन संस्थानको स्थापना गरी यस क्षेत्रका जनशक्ति उत्पादनको प्रतिबद्धता नेपाल सरकारले गरेको भए पनि अहिलेसम्म त्यसको शुरुवात नगरिनु दुःखद् कुरा हो भने ।

उनका अनुसार हाल नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका विभिन्न २२ वटा विषयमा एमडीसम्मको पठनपाठन गर्न सकिने भए पनि हाल एउटामात्र विषय (काया चिकित्सा) मा मात्र रहेको छ । प्रस्तावित संस्थानको स्थापना हुन सकेमा मात्र उच्चस्तरीय जनशक्तिको विकास र व्यवस्थापन हुनसक्ने उनको भनाइ छ ।

उनको संयोजकत्वमा गठित १० सदस्यीय आयुर्वेद चिकित्सा क्षेत्रका प्राध्यापक एवं विज्ञ चिकित्सक सम्मिलित सो समितिले त्रिभुवन विश्वविद्यालय मातहत रहने गरी सो संस्थान स्थापना गर्न त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई केही दिनअघि मात्र सो प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा उनिहरुले स्वास्थ्य मन्त्रालयले विसं २०६३ मा नै गरेको एक अनुसन्धानले देशमा आयुर्वेद क्षेत्रका कम्तीमा पनि ५१५ जना विशेषज्ञ जनशक्तिको खाँचो रहेको देखाएको र अहिले त्यो संख्या निकै बढी भइसकेको भन्दै ती जनशक्तिको उत्पादन र व्यवस्थापनका लागि आयुर्वेद अध्ययन संस्थानको स्थापनामा जोड दिएको हो ।

त्यसैगरी नेपालमा आयुर्वेद फार्मेसी शिक्षा सञ्चालन गर्न सकिएमा पनि यसले देशमा उपलब्ध असंख्य र अमूल्य जडीबुटीको सही सदुपयोग हुने र यसले देशमा सही मात्रामा आयुर्वेदको अध्ययन अध्यापन तथा अनुसन्धानमा सहयोग पुग्ने सो प्रतिवेदनमा उल्लेख छ ।

हालैका वर्षमा मात्र शुरु भएको आयुर्वेद चिकित्सा विषयको एमडी तहको अध्ययन आयुर्वेदका २२ मध्ये एक विषयमा मात्र उपलब्ध छ र यसका लागि वर्षमा दुई जनाले मात्र पढ्न पाउँछन् भन्दै नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रको अध्ययन अध्यापन शुरु भएको दशकौँपछि पनि यस्तो अवस्था हुनु दुःखद् भएको प्रतिवेदनमा उल्लेख छ ।

आयुर्वेद चिकित्सा क्षेत्रका प्राध्यापक एवं सो समितिका संयोजक डा चन्द्रराज सापकोटाले देशका विभिन्न क्याम्पसमा आयुर्वेद चिकित्सको स्नातक तहको अध्ययन अध्यापन जारी रहेको तर विशेषज्ञता अध्ययनका लागि भने अवसर नै उपलब्ध नभएको वर्तमान समस्याको समाधानका लागि प्रस्तावित संस्थानको स्थापना एकमात्र विकल्प हो भने।

हाल नेपालमा वर्षेनि करीब १०० जना जनशक्ति स्नातक तहमा उत्पादन हुने गर्दछन् । तर उनीहरुले विषेशज्ञता हासिल गर्नका लागि नेपालमै सेवा भने उपलब्ध छैन ।

विसं २०५२ मा पारित भएको राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीतिमा पनि यो संस्थानको स्थापनालाई जोड दिइएको छ । त्यसैगरी राष्ट्रिय योजना आयोगले पनि विसं २०५७ मा गरेको एक अध्ययनमा नेपालमा ठूलो संख्यामा आयुर्वेद चिकित्सा क्षेत्रका विशेषज्ञस्तरको जनशक्ति आवश्यक रहेकाले तिनको उत्पादन र व्यवस्थापनका लागि आयुर्वेद अध्ययन संस्थानको स्थापना गर्न सुझाव दिएको थियो ।

सोही विषयमा गठित उक्त समितिले केही दिन अघि विशेष गरी नेपालमा आयुर्वेद चिकित्सा विषयमा विशेषज्ञ जनशक्ति स्थापना गर्न, नेपालमा यस विषयको पठनपाठनलाई थप व्यवस्थित र दिगो बनाउन तथा देशमा उपलब्ध जडीबुटीको सदुपयोग गरी देशभित्रै आयुर्वेद चिकित्सा क्षेत्रको विकास गर्न यो संस्थान स्थापना गर्न जोड दिँदै सुझाव दिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ