arrow

विवेकशील साझाका लागि वर्ष २०७५ ‘संगठन बिस्तार वर्ष’ (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
bibekshil_sajha.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले वर्ष २०७५ (नयाँ वर्ष)लाई ‘संगठन बिस्तार वर्ष’ घोषणा गरेको छ ।

विवेकशील साझाका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख मुमाराम खनालले शनिबार विज्ञप्ति जारी गरेर सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र मुलुकलाई रुपान्तरण गर्ने पार्टीको चाहना पूरा हुँदैन भन्नेमा आफूहरु सचेत रहेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्,  ‘यसै तथ्यलाई मनन गरि हामीले २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएका छौं, जसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्नेछ ।’

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण भने भईनसकेको जनाईएको छ । विवेकशील साझा पार्टीले संगठन विस्तारको अभियानमा देश विदेशमा रहेका नेपालीको सद्भाव रहने समेत भनेको छ ।
विज्ञप्तिको पूर्ण पाठ

 

प्रेस विज्ञप्ति

छोटो समयमा आम सर्वसाधारणले विकल्पको बलियो खम्बाको रूपमा हेरको विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण भैसकेको थिएन।

सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र हाम्रै जीवनकालमा मुलुकलाई रुपान्तरण गर्ने हाम्रो लक्ष्य हासिल हुन सक्दैन भन्ने कुरामा हामी सचेत छौं। यसै तथ्यलाई मनन गरि हामीले २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएका छौं, जसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्नेछ। संगठन विस्तारको यो महाअभियानमा नेपालमा मात्र होइन नेपालबाहिर रहेका नेपालीहरूले पनि व्यापकरूपमा सद्भाव समूहहरू गठन गरेर हामीलाई सघाउनु हुनेछ भन्ने हाम्रो आग्रह र विश्वास रहेको छ।

हाम्रो पार्टीको लागी संगठन बिस्तारको यो ऐतिहासिक वर्ष वैकल्पिक राजनीतिको मेरुदण्ड निर्माणको चरण हुनेछ जसबाट हामी आउँदो आम निर्वाचनसम्ममा निर्विकल्प शक्तिका रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनेछौं। त्यसकारण, राजनीतिक दलको सदस्यता लिन मिल्ने आम सर्वसाधारणलाई हामी यो वर्ष सक्दो बढी संख्यामा विवेकशील साझाको सदस्यता लिन, आफन्त र साथीहरूलाई सदस्यता लिन प्रेरित गर्न तथा संगठनमैं सकृय भएर काम गर्न मिल्ने शुभेच्छुकहरूले हामीले केही समयअघि नै सार्वजनिक गरिसकेको संगठन निर्माणको रूपरेखा अनुरूप संगठन निर्माण तथा विस्तारमा संलग्न हुन पनि हामी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौं। नेपालभित्र सदस्यता ग्रहण, संगठन निर्माण र विदेशमा सद्भाव समूहको गठनबारेको जानकारी हाम्रो वेबसाइट www.bibeksheelsajha.org मा उपलब्ध छ। थप जानकारीको विवेकशील साझा पार्टीको कार्यालयमा ०१-५५३६०६२ तथा ०१-५०१०६०९ मा अथवा मोबाइल नम्बर ९८५१२५३००१ तथा ९८५११४९२१४ मा फोन गरेर प्राप्त गर्न सक्नुहुनेछ।

विवेकशील साझा पार्टीले संगठन बिस्तार बर्ष मनाइरहँदा जनताको विशाल पंक्तिलाई पार्टीका विभिन्न रचनात्मक र नतिजामूखी अभियानहरुसँग जोडेर संगठन बिस्तारको कामलाई तिव्रता दिनेछ।

वैकल्पिक राजनीति गर्छु मात्र भनेर त्यसको उद्देश्य पुरा हुँदैन भन्नेमा हामी पूर्णरूपले सचेत छौं। त्यसैले, हामीले सांगठनिक संरचनालाई पनि नयाँ तर प्रभावकारी स्वरुप दिने चष्टा गरेका छौं। हामीले महाधिवेशनपछि निर्माण हुने पार्टीको संगठनात्मक संरचनालाई प्रतक्ष्य र सहभागितामूलक लोकतन्त्रको निर्वाचन विधिद्धारा संस्थागत गर्ने परिकल्पना गरेका छौं। यसले एकातिर पार्टीभित्र ‘औपचारिक लोकतन्त्र’लाई निरुत्साही गरेर ‘प्रतक्ष्य लोकतन्त्र’लाई स्थापित गर्न मद्धत गर्नेछ भने अर्कोतिर पार्टीले निर्दिष्ट गरेको ‘फिर्ता बोलाउन पाउने अधिकार' र ‘अस्वीकार गर्न पाउने अधिकार'ले नेताहरुलाई उत्तरदायिपूर्ण बनाउने छ भन्ने हाम्रो विश्वास हो।

हामीले एउटै नेतृत्व दशकौंसम्म रहने परम्परालाई तोड्न क्षमतावान व्यक्तिहरू पार्टीको नेतृत्वमा छिटै पुग्ने व्यवस्थालाई पनि सुनिश्चित गर्ने प्रयास गरेका छौं। त्यसकारण, विवेकशील साझा पार्टी युवा तथा आम सर्वसाधारणलाई पार्टीको सदस्यता लिएर, विभिन्न तहको नेतृत्वमा रहेर वा विभिन्न अभियानमा जोडिएर संठगन विस्तार वर्ष—२०७५ मा सहभागी हुन अनुरोध गर्दछ। देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना!

मुमाराम खनाल

केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख

विवेकशील साझा पार्टी

मिति: ०१ बैशाख २०७५



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ