arrow

पार्टी एकिकरणका बारेमा मंगलवारसम्म प्रचण्डले निर्णय गर्ने

सामाजिक जीवन उपयोगी शिक्षा आवश्यक

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
oli-prachanda.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् ।  

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको सोमवार यहाँ उद्घाटन गर्दै उनले “पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भने।”

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए ।

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

“अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं “शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको छ भने ।”

“शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उनले भने, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।”

अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताए  ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवादी शिक्षा नीति बनाइने बताउँदै यसका लागि छलफल भइरहेको जानकारी दिए । अन्य देशबाट सिकेर यहाँको भौगोलिक विविधता समेटेर समाजवादी शिक्षा ल्याइने बताउँदै उनले सीप र उत्पादनसँग शिक्षालाई जोड्ने नीति बनाइरहेको धारणा व्यक्त गरे।

मन्त्री पोखरेलले खेलकुद, सूचना प्रविधि, कृषि र आयुर्वेदिक शिक्षालाई प्राथमिकता दिने तयारी भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा रमेश भट्टराईले ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ र लेखनाथ शर्माले ‘अक्षरांकन प्रणाली र विषयगत उपलब्धि प्रमाणीकरण प्रणालीः औचित्य र अभ्यास’ विषयमा कार्यपत्र प्रस्तुत गरे।रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ