arrow

९५ दिनपछि तनहुँले पायो प्रजिअ

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
tanahu-cdo.jpg

दमौली । तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली पुगेका छन् । 

गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुगेका हुन् । उनले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हालेका छन् ।  

तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो । 

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो । प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले बताए । 

तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उनले गरेका छन् । 

यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ