काठमाडौं । नयाँ बर्षसँगै शुरु भएको टोखा बिस्केट जात्रा अन्तर्गत अन्तिम जात्रा मंगलवार मनाइँदैछ । बैशाख १ गतेदेखि ४ दिन मनाइने जात्राको अन्तिम दिन बिहानै देबताका ७ वटै खटलाई नगर परिक्रमा गराइएको छ । टोखामा बिस्केट जात्रा अन्तर्गत गणेश, कोथु गणेश, सपन बिनायक, चण्डेश्वरी, मसानकाली देवी, महादेव, सरस्वतीको मूर्ति लगायतका देबी देवताका सात वटा खटलाई नगर परिक्रमा गरी जात्रा मनाइन्छ ।
बिहानै खटहरु उठाई नगर परिक्रमापछि गछेँ टोलमा बिसाइएको छ । बिहानको जात्रा समापनपछि मसानकाली देवताको खटमा रहेका नवदुर्गाका मूर्तिहरु भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउने काम गरिन्छ । दिउँसो २ बजेसम्ममा मसानकाली माईको खट बिसाइन्छ ।
अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका बासिन्दाले वरपरका क्षेत्रमा सरसफाइ गरी रातो माटोले पोतेर खटको स्वागत गर्दछन् । अपराह्न साढे चार बजे अन्तिम जात्राको तयारी सरकारी पूजाबाट गरिन्छ । सरकारी पूजाका लागि सबै खटहरु लामबद्ध बनाएर अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढङ्गबाट अगाडी बढाउन बसः ल्यायगु भन्दै विशेष प्रकारको कपडा बिछ्याएर खट अगाडी बढाइन्छ ।
कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य गरिने भए पनि पाँचवटा खटहरु पुनः थनेलाछीमा आएर त्यहाँ ठडयाइएको ल्योसिं अर्थात लिंगो लाई परिक्रमा गरेपछि, प्रत्येकका आ–आफ्ना प्रतिनिधि, बाजा सहित लिन पुग्छन् । त्यसपछि देवी देवतालाई मन्दिरमा विधिवत पूजामंगलवाराकासाथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राखिन्छ ।
यही रात केही बुढापाकाहरु र स्थानियवासीले ह्दयविदारक गीत गाउने चलन पनि छ ।
एक महिना अघि इन्द्रजात्राका दिन ठड्याइएको लिंगो भने बैशाख ५ गते ढालेपछि विधिवत रुपमा टोखाको बिस्केट जात्रा समापन हुन्छ । यो दिन सिन्दुर जात्रामा सामेल सबै खलः, पुच, गुठी तथा संघसंस्थाहरु बज्रयोगिनीमा गएर पूजागरी भोज खाएर नगर परिक्रमा गर्ने परम्परा छ ।