arrow

एकता संयोजन समितिको निष्कर्ष - अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्षलाई

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
ekata.jpg

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलवारको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लामो समयको चिसोपछि एकाएक सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुँदा मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका थिए ।

यसका लागि एमालेले सकेसम्म बैशाख ९ गते नै एकता गर्नुपर्नेमा जोड दिएको छ । एमालेको सोमबार राति बसेको स्थायी कमिटीको बैठकले माओवादीसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तर त्यसका लागि एमालेले कुरो मिल्नुपर्ने बताएको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको थियो ।
 
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए ।

एकता संयोजन समितिको बैठक मंगलबार बिहान बस्दैछ । यो बैठकमा संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल निकाल्ने अनुमान गरिएको छ ।
 
पछिल्लो गतिविधिलाई केलाउने हो भने बैशाख ९ गते नै पार्टी एकता घोषणा हुनेमा आशंका छ । किनकि दुवै दलका नेताहरु आपसमा भेटिन त कठिन भइरहेको छ भने सिंगो पार्टी मिल्न तत्काल सम्भव देखिँदैन ।

एक एमालेका केन्द्रीय सदस्यका अनुसार भागबण्डा मिल्ने हो भने पार्टी एकतामा कुनै समस्या नभएको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ