arrow

बुटवलको सडक क्षेत्रभित्र पर्ने ३ सय ११ घर भत्काइँदै

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
butwal-road.jpg

बुटवल। बुटवलको सडक क्षेत्रभित्र पर्ने ३ सय ११ घर भत्काउन शुरु गरीएको छ ।  लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको हो ।

बुटवल–बेलहिया सडक विस्तार आयोजनाले आज(मंगलबार)देखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउन शुरु गरेको हो । सोमबार बुटवल मिलनचोकस्थित हेभी इक्प्युमेन्ट रहेको कार्यालयको पर्खाल भत्काएर उक्त कार्यको शुरुवात गरीएको हो ।
 
आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले मंगलबार बिहान १० बजेदेखि बुटवल राजमार्ग चौराहाबाट ८२ फूटभित्र परेका संरचनाहरू हटाउनल लागेको जानकारी दिए ।  बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । सूचनाको मिति सोमबार सकिएको छ । यहाँ व्यवसायिक सटरहरू र अस्पतालहरू पनि सडक संरचनाभित्र परेका छन् ।  

घरधनीहरूलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ । विगत ३ वर्षदेखि सातरआठ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको थियो  । सडक विस्तारको जिम्मा ‘द’ कञ्चनजङ्घा बिरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौँले लिएको छ । गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो ।

ठेकेदार कम्पनीले हालसम्म ४ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक विस्तार आउँदो २०७६ असोज सम्म सक्नुपर्ने सम्झौता छ । आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले सडक विस्तार थाल्नुको विकल्प नभएको बताए ।

अहिले कायम रहेको सडकको दायाँबायाँ सर्भिस लेन थप गरिने योजना छ । त्यस्तै अहिलेको सडकमा १० सेन्टिमिटर कंक्रिट थपिने छ भने हाल रहेको नाली थप विस्तार हुनेछ । ६ मिटरको सर्भिसलेन र २ मिटरको फुटपाथ बन्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ