arrow

सकियो दोश्रो चौंरी महोत्सव

लोप हुने अवस्थामा पुगेको चौरीको संरक्षण र संर्वद्धन गर्न आवश्यक

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
yak_chauri.jpg

पाँचथर । नयाँ बर्षको अवसर पारेर पाँचथरको फालेलुङ गाँउपालिकाको चाररातेमा दोस्रो पल्ट संचालन गरिएको चौंरी महोत्सव भब्यता पूर्वक सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौरी तथा घिउ, छुर्पी लगायत चौंरी जन्य सामग्रीहरुको प्रदर्शन गरिएको छ ।

महोत्सवको प्रतिनिधि सदस्य बसन्तकुमार नेम्वाङले उद्घाटन गर्दे चौरी महोत्सवले संकटमा पर्न लागेको चौरी पालन पेशाको संरक्षण संर्वद्धनमा सहयोग पुग्ने बताए । सो महोत्सव नयाँ वर्ष ०७५ वैशाख १ गते उद्घाटन भएर वैशाख ३ गते सकिएको हो ।

फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रवाट दुई सय वढी चौंरी प्रदर्शनीका लागि ल्याइएको थियो ।

युवा पलायन हुन थालेको र पुस्तौँ देखि गर्दै आएको चौंरी पालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौरी लोप हुन लागका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष डिल्लि केरुङले बताए । उनले भने,“चरिचरन क्षेत्रको  अभावमा नेपालका उच्च पहाडी र हिमाली क्षेत्रवाट चौंरी र चौंरी गोठ लोप हुन लागेको कारण चौंरीको संरक्षण गर्ने, चौंरी रहन सक्ने वातावरण निर्माण गर्ने सन्देश दिन तथा चौंरीजन्य उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।

समुद्री सतहवाट ३ हजार ४ सय मिटर उचाईमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो । पाँचथर तर्फ मानव वस्तीबाट २७ किलोमिटरको दुरीमा रहको सो  स्थान इलामको सन्दकपुर गाँउपालिकको मानव वस्ती भएको स्थानबाट ४ किलोमिटरको दुरीमा रहेको छ ।

चारराते क्षेत्रबाट कुम्भकर्ण, कञ्चनजंघा लगायत हिम श्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । चारराते क्षेत्रमा स्थानमा पुग्ने सडक निर्माण गर्न सकिए स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने र पर्यटकको माध्यमबाट स्थानीयले आय आर्जन गर्न सक्ने सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेको भनाई छ । महोत्सवबाट नेपाल, भारत र भुटानको उच्च पहाडी क्षेत्र तथा चौरी पालन व्यवसायमा रहेको सम्बन्धलाई प्रगाढ बनाउँन समेत मद्दत पुग्ने आयोजकले जनाएको छ । महोत्सव स्थलमा चौंरी लिएर आएका किसानले भने भारतको सिक्किम र पश्चिम बंगाल राज्यले आफ्नो भूमिमा चौंरी चराउन प्रतिबन्ध लगाएपछि चौंरी पालन व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् ।

चौंरी नेपाल, चीनको तिब्बतको पठारदेखि उत्तरमा मंगोलिया तथा रुसका हिमाली प्रदेशमा पाइने गर्छ । चौंरी गाई धेरै संख्यामा घरपालुवा जनावरको रूपमा पाइएता पनि कम र असुरक्षित संख्यामा जंगली जानवरको रूपमा पनि पाइने गर्छ । यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा दुध उत्पादन, सामान ढुवानी तथा मासुका लागि पाल्ने गरेको पाइन्छ ।

नेपालको पूर्व पश्चिम डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ्ग, मनाङ्ग, लम्जुङ्ग, गोरखा, सिन्धुपालचोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थानहरू चौरीको पकेट क्षेत्र हुन ।

नेपालामा चौंरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ । विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौंरीपालन व्यवसाय घटेको चौंरीपालक किसानहरु बताउछन । युवाहरु विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौरी पालन व्यवसाय घटेको चौरी पालक किसानहरुको भनाई छ । अहिले उच्च हिमाली तथा पहाडी क्षेत्रमा चौंरी गोठ भेट्न मुस्किल पर्न थालेको छ ।

समुद्री सतहबाट २००० मिटर देखि ५००० मिटर सम्मको उचाईको हिमाली तथा पहाडी क्षेत्रमा चौंरी पालन हुन्छ । दुई प्रजातिको चौंरीको पालन बढी हुने गर्छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । यो याक वा नाक भन्दा फरक प्रकृतिको जनावर हो । तर याक वा नाकलाई पनि चौंरी भन्दा उच्च प्रजातिमै समावेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौंरीलाई ‘उराङ’ वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ ।

यसरी देशव्यापी रुपमा चौरी पालन व्यवसाय लोप हुदा आर्थिक रुपमा देशलाई नै घाटा लाग्ने सरोकारवाला वताँउछन् । चौरीको दुधबाट उत्पादन हुने दुग्ध पदर्थ तथा अन्य कच्च पदर्थहरु उत्पादन हुन सक्दैन । त्यस्तै पर्यटन व्यावसायमा पनि ह्रास आउने उनीहरुको भनाई छ । पहिला दोलखा, तप्लेजुङ लगायतको स्थानमा चौरी महोत्सब हुने गरेको थियो र गत वर्षबाट पाँचथरमा पनि चौंरी महोत्सव हुँदै आएको छ ।

तर बर्षेनी रुपमा चौरीको संख्या घट्दै जाँदा महोत्सवले महत्व पाउन नसकेको चौंरीपालकहको भनाई छ । हिमाली र उच्च पहाडी क्षेत्रको पहिचानसँग जोडिएको चौरीको दुधबाट बनेको छुर्पी, दुर्खा, याक चिज, घ्युउ, पनिर तथा दुग्धजन्य पदार्थको उत्पादन समेत घटेको छ ।

विशेषतः ताप्लेजुङ्ग जिल्लाका पाँचवटा गाउँपालिकामा र पाँचथरका केही भेगमा रहेका चौरी गोठबाट उत्पादन गरिने छुर्पी, दुर्खा, घ्यु, पनिर जस्त दुग्धजन्य पदर्थको पछिल्लो समय उत्पादनमा गिरावट आएकाले सदरमुकाममा समेत पाउन मुस्किल भएको छ । पहिलेको तुलनामा चौंरीपालन व्यवसाय पनि कम भएकाले चौरीको दुधबाट बन्ने कच्चा पदार्थको अभाव हुन सक्ने व्यवसायीहरु बताउँछन् ।

नेपालमा उत्पादन हुने चौंरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्युउ, मखन, पनिर अदि स्वादिष्ठ र स्वास्थ्यको लागि राम्रो हुने हुँदा कोशेलीका रुपमा विभिन्न देश तथा विदेशमा लैजाने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ