arrow

यातायात व्यवसायीको पीडाः भण्डारी भन्छन् – आफ्नै मान्छे भए पनि के लाग्दो र’छ र !

यातायात २१ गते ठप्प, २७ देखि अनिश्चितकालीन

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
oli-basanta.JPG

काठमाडौं । यातायात क्षेत्रको एकाधिकार तोड्न सरकारले कडा कदम चालेपछि रन्थनिएका पुराना यातायात व्यसायीले आउँदो बैशाख १२ गतेदेखि ४ दिन राजधानी लगायत मुलुकभरको यातायात अस्तव्यस्त पार्ने निर्णय गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

महासंघले १२ र १३ गते तालिका फ्री र १४ र १५ गते क्यू फ्रि गर्ने बताएका छन् । 

के हुन्छ तालिका फ्रि र क्यू फ्रि हुँदा ? 
यातायात समितिहरुले राजधानी लगायत मुलुकभर दैनिक चलाइने गाडीको निमियत चल्ने समय र कुन गाडी चलाउने भनेर तालिका मिलाउँदै आएका छन् । 

सरकारले समिति नै खारेज गर्ने निर्णय गरेपछि उनीहरुले समय र क्यू फ्रि गर्ने निर्णय गरेका छन् ४ दिनका लागि । महासंघका उपमहासचिव वसन्त भण्डारीका अनुसार राजधानीमा सयभन्दा बढी संघसंस्थाका सार्वजनिक गाडी छन् । 

ती संस्थाका कम्तिमा १० हजार गाडी छन् । राजधानी बाहिर दैनिक ६ सय भन्दा बढी गाडी जाने गर्छन् । उनीहरुले गरेको निर्णय अनुसार वैशाख १२ देखि १५ सम्म ती गाडी बिहान ५ बजेदेखि राती ७–८ बजेसम्म नियमित तालिका अनुसार चलाइने छैन । भण्डारीले भनेका छन् अब समय तालिका हेर्ने होइन, यात्रुको चाप बढी हुने समयमा ती गाडी एकसाथ चलाइने छ । राजधानीमा एउटै जस्तो समयमा ती गाडी चलाइँदा यातायात अस्तव्यस्त हुनेछ । 

साथै राजधानी बाहिर जाने आउने यात्रुले भनेको बेलामा गाडी पाउने छैनन् । यी ४ दिन, व्यवसायीको मनमोजी निर्णय अनुसार गाडी चल्नेछन् । 

कम्पनीमा जाँदा के हुन्छ ? 
अहिलेसम्म यातायात व्यवस्था समिति मार्फत मुलुकभर झण्डै  २ लाख बढी सार्वजनिक गाडी चल्दै आएका छन् । सबै जसो सार्वजनिक गाडी धनी राष्ट्रिय यातायात व्यवसायी महासंघको छातामुनी छन् । 

समितिको सिफारिस बिना गाडी किन्नेले रुट इजाजत समेत पाउने थिएनन्। उनीहरुले गैरसरकारी संघ संस्था दर्ता अन्तरगत समितिमा आफ्ना सवारी साधन दर्ता गरेर राज्यलाई कर नतिरी व्यवसाय चलाउँदै आएका छन् । सरकारले कम्पनीमा दर्ता गरेर करको दायरामा ल्याउन लागेको हो । 

कम्पनी मार्फत चलाउँदा व्यवसायीलाई पर्ने मर्को भनेको कर तिर्नु पर्ने मात्रै होइन, समिति मार्फत चलाउँदा एउटा मात्रै गाडी भएपनि चलाउन पाइन्थ्यो । तर अब कम्तिमा ५ वटा गाडी चाहिन्छ दर्ताका लागि, जुन रकम जुटाउन नसक्ने उनीहरुको तर्क छ । 

अर्को कुरा हालसम्म गाडी किन्नका लागि जायजेथा राखेर बैंकले ऋण दिने गथ्र्यो । तर कम्पनीमा जाँदा कम्पनीको नाममा भएको सम्पत्ति बाहेक अरु धितो राख्न नदिने भएपछि, उनीहरु थप आत्तिएका छन् ।  उनीहरुको अर्को गुनासो छः दुर्घटनाको बेला गरिने उपचार र क्षतिपूर्ती रकम यसअघि समितिमा जम्मा गरिने रकमबाट तिर्ने गरिएको थियो । कम्पनीमा गएपछि त्यो रकम तिर्न समस्या पर्ने उनीहरुको तर्क छ ।  

के सोच्दैछन् गाडी मालिकहरु ? 
२०४० सालदेखि गाडी व्यवसायमा हात हालेका झापाका वसन्त भण्डारीको यतिबेला निद हराम भएको छ । सरकारले यातायात क्षेत्रको सिण्डिकेटवालाहरुको सिङ भाँच्ने निधो गरेपछि, भण्डारीजस्तै २ लाख बढी सार्वजनिक गाडीका मालिकको ओठ सुक्न थालेको छ । सरकारले घुँडा टेकेन भने पुराना व्यवासयीको एकाधिकार अब रहने छैन । 

व्यवसाय उत्कर्षमा पुुगेको बेला ३१ वटासम्म गाडी मालिक बनेका भण्डारीले हाल ४ वटा बस छन् । कारण ? “कमाइ छैन नि यतिबेला प्रतिष्पर्धा चर्को छ नि“ उनले भने । आफ्नै छाताभित्रकाहरुसँगको प्रतिष्पर्धामा रहँदा त कमाइ छैन भन्न थालेका गाडी साहुहरु अब नयाँ व्यवासीसँग पनि उत्रनु पर्ने लक्षण देखिएपछि रन्थनिनु स्वभाविक छ । 

माउन्ट मेट्रो टूर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष, एमालेको जनवर्गीय संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवासायी संगठनका उपमहासचिव, आफ्नै अखिल नेपाल यातायात व्यवसायी संघका सचिव हुन् भण्डारी । 

आफ्नै मान्छे प्रधानमन्त्री भाको बेलामा गाह्रोसारो परेछ त है ? उनले भने “आफ्नै मान्छे भएपनि दशा लागेपछि के लाग्दो र’छ र !’
दशा लागेकै हो त ? 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ