एमाले सचिव एवं मन्त्री गोकर्ण विष्टले भने –पार्टी बिर्सनुस्
अब युवाले अरबमा भेंडा चराउनु पर्दैन
कौरव खत्री
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
363
Shares
गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकार सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नँया ढङ्गले अगाडी बढ्न चाहेको बताएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक बिकासका क्षेत्रमा नया ढङ्गले नीति तथा कार्यक्रम बनाई जनताको सेवागर्न चाहेको बताए ।
विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बद्लीन नसक्ने बताउँदै जीवन बदल्न नया ढङ्गले काम गर्नुपर्ने बताए ।
‘एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिदैन’ उनले भने ‘जीवन बदल्न नयाँ ढङ्गले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ’ । उनले खान नपाएर भोकै बसिरहेको गरीब, दलीत, पिछडिएको परिवारको विकासको निम्ति अब आधार तयार गर्ने बताए ।
मानचित्रमा गौंरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पुरा गर्न गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए ।
‘हामीले पुरानो मानसिकता र मनोबृतिलाइ सच्चाएर पुर्वाधार निर्माण गर्दै गरीबी बेरोजगारलाई समाधान गर्न नया ढंगले अगाडी बढ्नेछौ’ मन्त्री विष्टले भने ‘जनताका तमाम समस्या समाधानको निम्ति निश्चित नयाँ निती र कार्यक्रमका साथ अगाडी बढ्ने छौ’ ।
सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताए ।
अब युवाहरु अरबमा भेडा चराउनु पर्दैन’
मन्त्री विष्टले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताए । ‘अब युवाहरु अरबमा युवाहरु भेडा चराउन पर्देन’ उनले भने ‘गाउँमै हजारौ रोजगारी सिर्जना गरी युवाहरुलाइ देशमै लगाउँछौ’ ।
मन्त्री विष्टले गुल्मीका दर्जन सडकहरुको स्तरोन्नती गर्दै, प्रत्येक जनताको घरमा केन्द्रिय बिद्युत, हरेक घरमा खानेपानीका धारा, खरका छाना हटाइ सुरक्षित आवास दिन, किसानका खेतमा सिँचाइ लगायतका व्यवस्था गर्न नया ढँगल अगाडी बढ्न खोजीरहेको बताए ।
निर्वाचनमा दिएको बचनबाट पछाडि हट्ने छैनौं
मन्त्री विष्टले चुनावको समयमा आफुहरुले बोलेको कुरा पुरा गर्नबाट पछाडी नहट्ने बताए । ‘जनताको असल सेवकको रुपमा काम गर्ने प्रतिबद्धताका साथ तपाइ सामु आएका छौ’ उनले भने ‘कहिले काँही काम गर्न खोज्दा खोज्दै पनि ढिला हुन सक्छ, तर बिकासका काम गर्न हामी जिम्मेवार छौ’ ।
मन्त्री बिष्टले चुनावमा आफुले बोलेका हरेक कुराहरु आफुले पुरा गरेरै छोड्ने बताए । ‘हामीले बोल्दै जाने बिर्सदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकार मार्फत पुरा गर्ने छौ’ उनले भने ‘अबको केही बर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशहरुलाइ सहयोग गर्न सक्ने बन्नेछौ’ ।
‘हामी राजनीतिक रुपमा फरक हुन सकौला त्यो ठुलो कुरा होइन’, उनले भने ‘ठुलो कुरा त गाँउका जनताको जीवन माथी उठाउनु हो’ । जनताले दिएको बिश्वास डगमगाउन नपाउने गरी काम गर्ने उनले बिश्वस्त तुल्याए ।
जनताका काम शिरमा राख्नुस्, पार्टी बिर्सनुस्
मन्त्री विष्टले पाँच बर्षपछि पनि जनताको मनमा रहनेगरी काम गर्न गुल्मेली जनप्रतिनिधीहरुलाई निर्देशन दिए ।
जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधीहरुको कामले गति नलिएको प्रति गुनासो गर्दै विष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्रथामिकता दिन आग्रह गरे । ‘स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ,’उनले भने,‘ दुवै पक्षको समन्वय र सामुहिक प्रयत्नमा काम अगाडी बढाउनुस् ।’
विष्टले स्थानीय तहलाइ अधिकार सप्पन्न बनाउने दुनियाँका सिमित संविधान मध्ये नेपाली संविधान पर्ने बताए ।
छोटो समयमै एकता हुन्छ
नेकपा एमाले केन्द्रिय सचिव समेत रहेका मन्त्री बिष्टले दुइ ठुला बाम पार्टीहरु बिच छिट्टैनै पार्टी एकता हुने बताए ।
‘पार्टी एकताको बिषयमा कुनै आशंका र निराशा ब्यक्त गर्नुपर्ने आवश्यकता छैन’ मन्त्री बिष्टले भने ‘जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेको कारणले केही ढिला मात्र भएको हो’ ।
मन्त्री विष्टले बुधवार नै मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार बजारमा लुम्बिनी वामी हस्पिटलको उद्घाटन गरेका थिए ।