पूर्वराजाले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास गरेको हल्ला
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
302
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास केवल हल्लामात्र भएको बताइएको छ । पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले पूर्वराजाले कुनै पार्टीलाई मिलाउन वा तोड्न भूमिका नखेलेको भन्दै बजारमा आउने गरेका कुराहरु हल्लामात्र भएको स्पष्ट पारे ।
हाम्राकुरासंग उनले भने, ‘पूर्वराजाबाट कुनै दल विशेष मिलाउने, फुटाउने वा समर्थन गर्ने भएको भए सहजै राजदरबार छाडिबक्सने थिएन, राजा अहिले पनि नेपालीहरु एक भएको र दलहरु सबै मिलेर अगाडि बढेको हेर्न चाहिबक्सिन्छ ।’
पूर्व श्री ५ बाट झापा भ्रमणका क्रममा राप्रपाको सबै घटकका नेताहरूलाई सामूहिक भेट दिएको बारेमा स्पष्ट पार्दै पाठकले भने, ‘‘त्यो एउटा संयोग मात्र थियो । झापा सवारी हुँदा त्यहाँ समाजका लब्धप्रतिष्ठित कतिपय महानुभावहरूलाई भेट्ने काम भए पनि पार्टी विशेषलाई मिलाउने वा तोड्नेबारेमा कुनै कुराकानी भएको थिएन ।’
उनले अगाडि भने, ‘विभिन्न व्यक्तिहरूसँग भेट्ने क्रममा राप्रपाका नेताहरु पनि भेटिएका हुन्, चाहेका खण्डमा परिस्थिति हेरेर पूर्वराजाबाट अरु नेताहरुसंग पनि भेट हुन सक्छ । यसलाई अन्यथा लिनु हुँदैन ।’
संवाद सचिव पाठले पूर्वराजा कुनै पनि राजनीतिक क्रियाकलापमा नभएको स्पष्ट पार्न खोजेका छन् ।
तर पूर्वराजा निकट स्रोतका अनुसार भने पूर्वराजासंगका कुनै पनि भेट संयोगमात्र हुन सक्दैनन् । राजसंस्थाको वकालत गर्दै आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउने अवसरवादीप्रति पूर्वराजा चिन्तित छन् ।