arrow

भारतीय कुखुरा-अण्डा तस्करी : 'पहिले अँध्यारो हुन्थ्यो, अहिले त दिउँसै हुन्छ'

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
poultry-farm.jpg

लहान। सरकारले भारतीय बजारबाट कुखुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ। भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो। भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ।

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ। भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन्। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ।

भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ। झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउछन्। उनले भने, “पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन थालेको छ।”

कुखुरा तस्करी गर्न साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुने गरेको स्थानीयवासी बताउँछन्। प्रहरीले गत फागुन १७ गते लगठी गोठ नाकाबाट जिपसहित रु आठ लाख ५० हजार बराबरको कुखुरासहित तस्करलाई पक्राउ गरिएको थियो।

माडरस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादव भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेको स्वीकार्छन्। उनले कुखुरा र अण्डाको तस्करी रोक्न सम्बन्धित निकायले आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताउछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ