arrow

तीन पत्रकार संगठनको सिण्डीकेटविरुद्ध पत्रकार महासंघमा तालाबन्दी

मनोनयन हुँदै, यसो भन्छ महासंघ 

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
FNJ_Talabandi.jpg

काठमाडौं। प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा तालाबन्दी गरेका छन् । 

विद्रोहमा उत्रिएका पत्रकार संगठनले महासंघमा भागबण्डा भएको र आफूहरुलाई प्रवेश नै नदिने षड्यन्त्र रचिएको भन्दै तालाबन्दी गरिएको जनाएका छन् । 

विज्ञप्तिमार्फत उनीहरुले पत्रकार महासंघको प्रदेश निर्वाचनका सन्दर्भमा महासंघ केन्द्रीय कार्यसमितिले  चालेको प्रकृया र महासंघमा लगाईदै आएको सिण्डीकेट  तोड्नका लागि तालाबन्दी गरिएको जनाएका छन् । 

तीन दलका पत्रकारहरुले आ–आफ्नो भागबन्डा लगाएको बिरोधमा महासंघ सबै पत्रकारहरुको साझा र छाता संस्था हुनपर्ने माग सात संस्थाहरुको छ। 

पहिलो पटक बन्दै गरेको प्रदेश संरचनालाई सम्पूर्ण रुपमा समावेशी बनाउन सरोकारवालाहरुसँग छलफल पनि नगरी मनोमानी ढंगले अगाडी बढेको आरोप तीन पत्रकार संघहरुलाई लगाईएको छ। 

गहन र गम्भीर छलफलको माग गर्दै तलाबन्दी गरिएको बिज्ञप्ति मार्फत जनाइएको छ। 


प्रदेश मनोनयन र निर्वाचन
संघीय संरचनामा गएसंगै पहिलो पटक बैशाख २२ गते प्रदेश लगायतको निर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबार दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुँदैछ । तर त्यसअघि नै  साना दलसंग आवद्ध लगायतका पत्रकार संगठनहरुले तालाबन्दी गरेका हुन् । 

यसअघि प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले बैशाख २२ गते हुने पत्रकार महासंघको प्रदेश निर्वाचनमा सँगै उम्मेदवारी दिने गरि सबै पदहरुमा भागबण्डा गरेका थिए । सहमति अनुसार पाँच ४ वटा प्रदेश र प्रतिष्ठानमा प्रेस चौतारीले अध्यक्ष पाउने छन त्यसै गरी प्रेस युनियनले १ वटा प्रदेश र एसोसिएट प्रदेशमा अध्यक्ष पाउने छ । प्रेस सेन्टरले २ वटा प्रदेश र उपत्यका प्रदेशमा अध्यक्ष पाउने छन् ।

मंगलबार दिउसो भएको सहमति अनुसार प्रेस चौतारीले प्रदेश नम्बर १,३, ६, ७ मा अध्यक्ष पाउने छ । त्यसैगरी  नेपाल प्रेस युनियनले प्रदेश २ र प्रेस सेन्टर नेपालले प्रदेश ४, ५ मा अध्यक्ष पाउनेछन् । आज भएको सहमतिमा प्रेस चौतारीमा अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रेस सेन्टरमा अध्यक्ष महेश्वर दाहालले हस्ताक्षर गरेका छन् ।


के भन्छ पत्रकार महासंघ 
नेपाल पत्रकार महासंघले महासंघको केन्द्रीय कार्यालयमा भएको तालाबन्दीलाई गलत भनेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले अधिकांश मागहरु महासंघसंग सम्बद्ध नभएका जनाएका छन् । 

महासंघले यो तालाबन्दीको औचित्य नभएको समेत जनाएको छ । संघीय संरचनामा जाँदा सबै पक्षलाई कसरी समेट्न सकिन्छ भनी महासंघले विचार विमर्श गरिरहेका अवस्थामा तालाबन्दी गर्नुले समस्या झन् बढ्ने महासंघको तर्क छ । 

महासंघले तीन दलका पत्रकार संगठनले गरेको सहमति महासंघको अगुवाइमा नभएकाले को, कहाँ, कसरी चुनावमा मिलेर अगाडि बढ्दैछन् भनी महासंघले चासो राख्नु पनि औचित्य नहुने बताएको छ । 

महासंघले कसैलाई मिल वा टाढिनु भनेर भन्न नमिल्ने तर्कसमेत गरेको छ ।  

महासंघले अब कसरी अगाडि बढ्ने भन्दै मध्यान्ह १२ बजे उपस्थित कार्यसमितिको बैठकसमेत बस्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ