arrow

पार्टी एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : केशब बडाल

‘महाधिवेशनले जसलाई पनि अध्यक्ष बनाउन सक्छ’

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
badal_(2).JPG

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।  भोलि बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो र अहिलेपनि उहाँ दृढ नै हुनुहुन्छ, देशको स्वाभिमान उँचो बनाउनुभयो’ उनले भने,‘उहाँको कामको विरोध गर्नेहरुभन्दा प्रशंसा गर्ने धेरै छन्।’

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो । उनले भने,‘विगतमा नेपाल–भारतबीच कर्मचारी स्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ।’ पूर्वप्रधानमन्त्री कृतिनिधि विष्टले चीनसँग केपी ओलीले पारवहन सन्धि गरेकोमा खुशी व्यक्त गरेको पनि उनले जानकारी दिए ।

ओलीले एक दिनको लागि कसैलाई खुशी पार्ने कुरा नगर्नेपनि उनले जनाए । उनले भने,‘अब त्यही कुरा कतिपयलाई मन पर्दैन्।’ नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर प्रधानमन्त्रीले राष्ट्रिय अनुशन्धान विभागलाई आफू केन्द्रित गरेको बडालले स्पष्ट पारे । बडालले भने,‘राष्ट्रिय सुरक्षा बलियो र दरो बनाउनको लागि, अक्षुण र अविछिन्न राख्नको लागि कार्यकारी प्रधानमन्त्रीले आफू मातहतमा अनुशन्धान विभाग राख्नु नौलो कुरो होईन्।’

प्रधानमन्त्रीले त ऐन मिचेर राष्ट्रिय अनुशन्धान विभागलाई आफू मातहात ल्याउनुभयो नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘यदि ऐन विपरित भएको छ भने, ऐन मिचिएको छ भने त्यसको विरोध त म पनि गर्छु, तर यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच कुनै विवाद छैन, गृहमन्त्री रिसाउनुर्पे पनि कुनै कारण छैन्।’ त्यस्तै उनले यो विषयले पार्टी एकतामा कुनै असर नगर्ने स्पष्ट पारे।

एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०-५० को कुरा गर्नुभएको छ नि ? तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भने,‘पार्टी एकता र मोर्चा एउटै कुरा होईन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ।’

उनले महाधिवेशन अघि नै यो व्यक्ति अध्यक्ष भनेर ग्यारेण्टी गर्न नहुने धारण राखे । उनले भने,‘महाधिवेशनपछि लोकतान्त्रिक प्रक्रिया अनुसार जो पनि अध्यक्ष बन्न सक्छन्, प्रचण्ड योग्य र सक्षम हुनुहुन्छ, अहिले नै यो व्यक्तिलाई अध्यक्ष भनेर भन्नुहुँदैन।’ ओली र प्रचण्ड दुवै नेताले ‘र्‍यांक एण्ड फाईल’ सबै कार्यकर्ता मेरा हुन भनेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनल एमाले र माओवादी केन्द्रबीच एकता ढिलाई हुँदा चिन्ता र खुशी मनाउने दुवै थरि मानिसहरु रहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ