arrow

ओली ज्यू अब जुत्ताको साइज मिलाउन खुट्टा पो ताछ्ने ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७५ वैशाख १० सोमबार
oli-prachanda.JPG

काठमाडौं । केपी शर्मा ओली अजिबका छन् । उनी जुनसुकै भाषणमा दर्शक नहसाई फर्किने गर्दैनन् । सम्भवतः ओलीको बोली जतिसुकै नियन्त्रण गर्न खोजे पनि ठट्यौलो भैहाल्छ । 

के आइतबार अपरान्हको भाषण पनि त्यही विधाको थियो त ? लेनिन जयन्तीको अवसर पारेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा ओलीले पार्टी एकताका लागि जुन भाषा बोलेका छन् त्यसले खतराको संकेत गर्छ । 

उनले भनेका थिए, ‘अब मेरो जुत्ता मिलेन लाउँदिन भन्ने ठाउँ छैन, जुत्ता मिलेन भने पनि खुट्टालाई ताछतुछ पारेर भए पनि मिलाएर लगाउनुपर्छ । पार्टी एकता त्यस्तै हो, अब जुत्ताको कुरा होइन, खुट्टा ताछेर भए पनि लगाउनुपर्छ । हामी अब त्यो बिन्दुमा पुगिसक्यौं ।’

नेपालीको उखान हो, ‘खुट्टा भए जुत्ता कति कति ।’ इच्छाशक्ति भयो भने खुट्टामा लगाउन जुत्ता किनिन्छ । केही बढी पनि किनिन्छ । तर के एउटा राम्रो जुत्ता मनपर्यो तर त्यसको साइज मिलेन भने साइज मिलाउन खुट्टा ताछेको सुन्नुभएको छ ? 

पक्कै छैन । एमाले–माओवादी खुट्टा ताछ्ने अवस्थामा पुगिसके । यसका धेरै अर्थ हुन सक्छन् । सम्भवतः यो ओलीको ठट्टा गर्ने उदाहरण मात्र बनोस् । होइन र यसले उग्र रुप लियो भने एकता भाँड्न चाहने जो कोहीलाई पनि ताछ्न सकिन्छ भन्ने सन्देश पनि दिन सक्छ । 

‘आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा पनि देख्ने’ भनेझैं ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक पटक एकता भाँड्ने प्रयास भएको भन्दै आफ्ना दोष लुकाउने प्रयास गरेका छन् । 

विपक्षी पार्टीले तिमीहरु नमिली सुखै छैन भन्दै लमीको काम गर्दै त पक्कै हिंड्दैन होला त ? कि सहजकर्ता नै बनेर महान् र कीर्तिमान रच्छ त ओली र प्रचण्ड कमरेड ? 

पार्टी र नीति विपरीत हुन लागेको यो एकताले तरंग ल्याएको स्पष्ट छ । भित्तामा लेलिन, स्टालिन र कार्ल माक्र्सको तस्वीर राख्दैमा क्रान्तिकारी कम्युनिष्ट भइँदैन । 

तर आइतबार भृकुटीमण्डपमा भएको कार्यक्रमको ट्रेलर हेर्ने हो भने त्यहाँ त ब्यानरमा ती नेताका तस्वीरसमेत थिएनन् । त्यहाँ त ओली र प्रचण्डका तस्वीर थिए । यस्तो लाग्छ उनीहरु नै सर्वशक्तिमान भइसकेका छन् । 

ओली ज्यू र प्रचण्ड ज्यू आफूलाई महान् र सम्मानित गर्न तपाईहरु उद्दत हुनुहुन्छ भने एक साइज घटेर तपाईहरुबीच एकता हुन सक्छ र ? असमानता, विभेद र अपमान हुने खालले एकता हुँदैन । 

तर के समानता, विभेदरहित र मानैमान हुने खालको एकता अहिले एमाले र माओवादीबीच सम्भव छ ? पटकपटक एकताको मिति फेर्दै हिँड्ने दुवै नेता अनि दोष दिने अरुलाई । जहाँ गए पनि मान खोज्ने दुवै नेता अनि अपमान सहनु हुन्न भन्ने ? समान मान कसैले अहिलेसम्म कहीं पाएको देख्नुभएको छ तपाईहरुले ? 

पार्टी एकताको चर्चा चलेको ८ महिना भइसकेको छ । यसबीचमा एकताको मिति पनि पटकपटक सरेको छ । न सिद्धान्त मिल्छ न त नीति नै मिल्छ । यो अवस्थामा कहाँबाट हुन्छ एकता ? 

गुरु एकै हुन् भनेरमात्र पुग्दैन चेलाहरुको प्रकृति पनि एकै हुनुपर्छ । एउटै गुरुले पढाएका विद्यार्थीहरुको स्वभाव भिन्न हुन्छ विचार भिन्न हुन्छ । हो त्यस्तै हो प्रचण्ड र ओली चरित्र । 

त्यसैले कमरेडहरु जनता र कार्यकर्तालाई झुक्याएर किन आफ्नो दूनो सोझ्याउनु ? स्पष्ट कुरा गर्न नसकेर अन्टसन्ट भाषण गरेर किन अल्मलाउने ? कम्युनिष्ट हुँ भन्नेमात्र होइन प्रजातान्त्रिक हुँ भन्नेहरुले पनि चुनावमा कमरेडहरुलाई भोट हाले । 

त्यो वितृष्णा सम्भवतः काँग्रेसको आन्तरिक कलह, राप्रपाको विना उद्धेश्यको राजनीति नै प्रमुख कारक हुन पुग्यो । त्यसको फाइदा स्वभावैले एमाले–माओवादीलाई पुगेकै हो । तर यसको मतलव यो हैन कि ती भोट सदाबहार हुन् । 

जुनसुकै बेलामा पनि समर्थन फिर्ता हुन सक्छ । केही विकास गर्लान् भनेर उनलाई भोट दिइएको हो । केही गरेर देखाउने बेलामा शक्तिबाँडफाँडमा मच्चिने अनि दोष अरुलाई लगाउने प्रवृत्ति सोह्रैआना गलत छ । 

सरकारमा रहेका दलहरुले विकासका लागि प्रतिपक्षीलाई साथमा लिएर जानु त कता हो एकताका अवरोधकका रुपमा सराप्दै हिंडेर कुनै अर्थ रहँदैन । एकताका विरोधी ओली र प्रचण्ड आफै हुन् भन्दा फरक पर्दैन । शक्तिको लोभले विरोध गरिरहेको छ । दिमाग र मनले एउटै कुरा भनिरहेको छैन । 

तसर्थ एकताकै विषयलाई लिएर अझै पनि लछार्ने र पछार्ने अनि मारकाटको स्थिति नआउला भन्न सकिन्न । ओली कमरेड जुत्ता अर्को ल्याउने कि खुट्टै ताछ्ने आँट हो ? 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ