arrow

लुभुको महालक्ष्मी महाभैरब जात्रा शुरुः भात खाएर पुजा गर्ने चलन 

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
jatra1.jpg

ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा संगै लुभुमा पनि महालक्ष्मी महाभैरब जात्रा शुरु भएको छ । यो जात्रा अन्तर्गत सोमबार अष्टमीका दिन सरकारी पुजा गरी मनाइदैछ । यसदिन सरकारी पुजा गर्नका लागि बोका बली दिने प्रचलन छ । 

यो खट जात्रामा मुख्यगरि महालक्ष्मी महाभैरबको जात्रा हुने गरेपनि एउटा खटमा गणेश, महालक्ष्मी, कुमार हुन्छ भने अर्को खटमा गणेश ,महाभैरब र कुमारीको मुकुट हुन्छ ।  यिनै खटको जात्रा अक्षयतृतियाका दिन शुरु भएर एक सातासम्म जारी रहन्छ । 

 रातो मच्छिन्द्रनाथसंगै भैरबको सम्बन्ध के  ?
ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रासंगै लुभुको महालक्ष्मी महाभैरब जात्रा  पनि शुरु  हुन्छ । बैशाख शुक्ल प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई खटमा राखेर चतुर्थिमा रथजात्रा शुरु हुन्छ भने अक्षय तृतियाका  दिन लुभुमा जात्रा शुरु हुन्छ । रातो मच्छिन्द्रनाथको रथजात्रामा समावेश भएका चार पांग्रा मध्ये अगाडीको दाँया पांग्राको भैरब, लुभुको हयग्रिब भैरब रहेको बिभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख छ । यो भैरबलाई लण्डकुण्ड भैरब र रुद्रकुण्ड भैरब पनि भन्ने गरिन्छ । 

परापुर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि रहेको किंबदन्ती छ । ती चार भैरबमध्ये लुभुका हयग्रिब भैरब पनि एक  रहेको जनश्रृति छ । त्यसैले  मच्छिन्द्रनाथको जात्रा गर्ने बेला लुभुको भैरबको पनि जात्रा चलाउने भन्ने भएकाले त्यो बेलादेखि नै जात्रा संगै परेको लुभु नेवा संस्कृति संरक्षण समितिका अध्यक्ष राम बहादुर श्रेष्ठ बताउँछन । 

यो हयग्रिब भैरब नै बुंगमतिको भैरब हो भन्ने गरिन्छ ।  बुंगमतिमा मनकामना माइको मुर्ति संगै लण्डकुण्ड भैरबको मुर्ति रहेको र छुट्टै हयग्रिब भैरबको पनि मुर्ति भएकाले यो कुराको पुष्टि भएको श्रेष्ठको दाबी छ । 
 
                                लुभुबासिले खाना खाएर पुजा गर्छन्
जात्रा अबधिभर लुभुका बिभिन्न स्थानमा खटलाई बिसाउन लाने परम्परा छ । आफना आँगनमा जुनबेला खट आइपुगेपनि पुजा गर्नुपर्ने भएपनि भोकै बस्न नपर्ने मान्यता छ । लुभुको जात्रा सञ्चालनका लागि महालक्ष्मी महाभैरब गुठीको व्यवस्था गरिएको छ । यो गुठीमा बिशेषगरी श्रेष्ठ परिवारका  ७ जना ज्येष्ठ नागरीकलाई मुल थकाली बनाइएको हुन्छ । ति थकालीहरुले जात्रा अबधिभर माछा मासु मात्र नभई भात पनि खान नहुने परम्परा छ । जात्रामा कुनै बिघ्न बाधा नआओस् र यसको कसैलाई दोष नलागोस भन्दै उनीहरुले मिश्रीकाडा, फलफुल र दुधमात्र खाई जात्रा अबधिभर शुद्ध र चोखो भई बस्ने भएकाले अन्यले बार्न नपर्ने गृह मन्त्रालयमा कार्यरत पुर्व थकालीका छोरा डा दयाराम श्रेष्ठ बताउछन् । 

त्यसैले लुभुबासीले जात्राका बेला आफना आँगनमा आएको देबतालाई भात खाएर पुजा गर्छन । बिहानै खट पुगेका स्थानले खाली पेटमै पुजा गर्छन भने दिउसो र बेलुका खट पुगेका स्थानीयले भने भात खाएरै पुजा गर्ने फरक चलन यहाँ छ । थकालीहरु प्रायजसो ८० बर्ष नाघेका हुने भएकाले आजकल प्रमुख थकाली र उनकी श्रीमतिले मात्र यो नियम पालना गर्ने र बाँकीले चोखो अन्य खाना पनि खान थालेका छन् । 

आकाश भैरबको पनि जात्राः प्रत्येक बर्ष सेलाउने परम्परा 
यो खट जात्रा शूरु भएको तेस्रो दिन भने कागजमा कोरिएको चित्रको आकाश भैरबको छुट्टै खटमा राखेर जात्रा गरिन्छ  । लुभुका बासिन्दाले बिरामी हुदा सबैभन्दा पहिला आकाश भैरबलाई सम्झेर रखवालाका रुपमा पुजा गर्छन ।आकाश भैरबलाई जात्रा अबधीभर जमिनमा नछोइकन राख्नुपर्छ । आकाश भैरबलाई भुईमा छुन नहुने मान्यता अनुसार पहिला पहिला जात्रा अबधिभर दिनरात नभनी पालो पालो रथ बोक्ने गरेकामा आजकल आकाश भैरबलाई भुइमा नछुनेगरी खटमा झुण्डयाएर राखेको हुन्छ । 

हुन त यो जात्रा अबधिभर पनि यो देबतालाई महर्जन बाहेक अन्यले छुन हुदैन भन्दै नछोइकन ताढैबाट दर्शन गर्छन । यो देबताका पुजारी पनि महर्जन थरका मात्रै हूने श्रेष्ठले बताए ।जात्रा मनाएपछि  भने  अन्तिम दिन यस आकाश भैरबलाई सेलाउन लाने चलन छ । पाटनका चित्रकारहरुले कागजका कोरेर बनाउने आकाश भैरबलाई प्रत्येक बर्ष जात्राको अन्तिम दिन लुभुको मुख्य ढोका बाहिर सेलाउन लाने गरिन्छ ।

जात्राका लागि छुट्याइएका ३ सय रोपनी जग्गा कहा हराए ? 
यो जात्रा सञ्चालनका लागि ३ सय रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको भएपनि आजकल ७४ रोपनी मात्रै जग्गा बाँकी रहेको  लुभुकै स्थानीय पुर्व प्रधानाध्यापक राजकुमार श्रेष्ठ बताउछन । जग्गा मासिदै र हराउदै गएसंगै जात्रा संग सम्बन्धित गतिबिधि पनि हराउदै गएका छन् । 

पहिला पहिला जात्रा सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थाका लागि जग्गाको व्यवस्था गरेपनि गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्थासंगै व्यक्तिका नाममा जग्गा नामसारी हुन थाले । यो संगै जात्राका लागि आबश्यक चामल , चिउरा, तेल लगायतका थुप्रै सामग्री हाल खरीद गर्नुपर्ने भएको छ भने चिलाख बालेर नगर परिक्रमा गर्ने , जग्गाा लिएकाहरुले गर्ने बिशेष पुजाहरु हराउन थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ