arrow

कांग्रेसको हारको कारण क्रियाशील नहुनु 

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ वैशाख १० सोमबार
NC_vela.jpg

पाल्पा । नेपाली कांग्रेसका स्थानीय तहका कार्यकर्ताले पार्टीका विभिन्न कमिटिहरु क्रियाशील नहुँदा निर्वाचनमा पराजित हुनु परेको बताएका छन् । उनीहरुले जनताले कांग्रेसलाई नछाड्ने भएपनि जिल्ला, क्षेत्र, गाउँ र वडा तहसम्म पनि क्रियाशील नहुँदा समस्या भएको बताएका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिले तानसेनमा राखेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनीहरुले कुनै पनि कमिटि क्रियाशील भएर काम नगर्दा अन्य पाटीले मत चोरेको बताए । कहिल्यै पनि जिल्ला कमिटिले गाउँ तहसम्म पुगेर कार्यकर्तासँग बसेर छलफल नगरेको आरोपसमेत लगाएका छन् ।

स्थानीय स्तरमा विभिन्न पेशा, व्यवसायसँग आवद्ध कांग्रेस निकट व्यक्ति छन्, तर उनीहरुलाई क्रियाशील बनाउन कहिल्यै नजाने भएपछि स्वतः निष्क्रिय हुने र मतदानका बेला विभिन्न प्रलोभनमा परेर अन्यत्र मत दिने गरेकोसमेत उनीहरुले बताए । 

अन्य राजनीतिक संगठनले विभिन्न समयमा भेला, गोष्ठी वा अन्य कार्यक्रम लिएर गाउँ पुग्ने तर कांग्रेस कहिल्यै नपुग्ने भएकाले पनि कार्यकर्तामा शिथिलता आएको बताए । उनीहरुले संरक्षणमासमेत कांग्रेस कमजोर भएको बताउँदै आफ्नो कार्यकर्ताका विषयमा कहिल्यै गम्भीर नबनेको बताएका छन् ।

तानसेनका मदनपोखरादेखि अर्गलीसम्मका अगुवा कार्यकर्ता उपस्थित भेलामा सहभागीहरुले जनताले कांग्रेसलाई चाहेपनि नेता कार्यकर्ताले भने यस विषयमा गम्भीर नबनेको आरोप लगाए । 

जिल्ला, नगर, बुथसमिति लगायतमा सामञ्जस्यता ल्याएर पार्टीलाई क्रियाशीलता गराउनुपर्ने कार्यकर्ताको जोड रहेको छ । जिल्ला नेतृत्व र कार्य समिति सदस्यहरुले पार्टीमा पद लिने तर क्रियाशील हुन र संगठन गर्नलाई कहिल्यै नखोज्ने प्रवृत्तिले गर्दा नै कांग्रेस स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कमजोर भएको कार्यकर्ताको भनाई रहेको छ । पार्टीलाई चुस्त, दुरुस्त बनाएर जीवन्तता दिनलाई कार्यकर्ताहरुले सधै सहयोग गर्न तयार रहेको बताएका थिए । 

कार्यक्रममा कमल राना, सागरमान महर्जन, चित्रवलीराम सुवाल, चिरन्जीवी ढुंगाना, कमलबहादुर राना, शिवचन्द्र खनाल, विष्णुबहादुर गाहा, सरस्वती भट्टराई, गीता भट्टराई, मोहनलाल कार्की, श्रीधर नेपाल, कृष्णबहादुर रावल, सुरेश थापा, शोभा शाक्यलगायतले पार्टीलाई क्रियाशील बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले अहिलेको हारको समीक्षा गर्दै आगामी दिनमा क्रियाशीलताका लागि सबै एक जुट हुन सक्नुपर्नेमा जोडदिए ।

नेपाली कांग्रेस जिल्ला सभापति बीरबहादुर रानाले नगरस्तरीय अगुवा कार्यकर्ता भेलाबाट नगरलाई थप उर्जा प्रदान हुने बताए । उनले नगर समिति, वुथ समिति र वडा समितिलाई क्रियाशील बनाएर पार्टीको विभिन्न कमिटिलाई अगाडी बढाउन आग्रह गरे । 

उपसभापति देवराज ढकालले रामपुर, निस्दी, रम्भामा भेला भैसकेको र अब तानसेन, रिब्दीकोट, रैनादेवी छहरामा पनि भेला गर्न  लागेको बताए ।पार्टी सचिव अजयमान कर्माचार्यले नगर र गाउँपालिमा जहाँ जहाँ हार व्यहोरेको छ त्यहाँ छाँया सरकारका रुपमा अब पार्टी कार्यकर्ताले काम गर्नुपर्ने बताए । अर्का सचिव झपेन्द्र गहिरेले अब कांग्रेस क्रियाशील भएर संगठन विस्तारमा जोड दिने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ