arrow

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
lumbini1.jpg

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै २ वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो । तर उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वान्हरुले सम्मलेन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो ।

२५ सय ६२ औं बुद्ध जयन्तिको अवसर पारेर आउँदो वैशाख १५ र १६ गते सम्मेलन गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा सहभागी अतिथिहरुले तेस्रो दिन हुने बुद्ध जयन्तिको विशेष समारोहमा सहभागिता जनाउने कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए ।

यस पटकको बौद्ध सम्मेलनको नारा ‘लुम्बिनी नेपालः बुद्धजन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान्’ भन्ने राखिएको छ । लुम्बिनीलाई बौद्धधर्मको उद्गमस्थल, विश्व शान्तिको मुहानका रुपमा अघि बढाउने र बौद्ध धर्मको महत्व प्रचार–प्रसार तथा अध्ययनलाई विश्वभर फैलाउने सम्मेलनको प्रमुख लक्ष्य रहेको विकास कोषले जनाएको छ । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्न योगदान गर्ने र धार्मिक एवं सांस्कृतिक पर्यटनको विस्तार तथा प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

यस्तै बुद्ध र बुद्ध जीवनीसँग जोडिएका कपिलवस्तु, रामग्राम, देवदह लगायतका स्थानहरुको पनि प्रचार–प्रसारमा टेवा पुग्ने आयोजकले विश्वास लिएका छन् । यी ठाउँहरुका बारे कोष र मन्त्रालयले प्रचार–प्रसार गर्न नसक्दा लुम्बिनी आउने पर्यटक पुग्न सकेका छैनन् ।

सम्मेलनमा सहभागी हुन २३ देशका संस्कृति मन्त्रालयलाई निम्ता पठाई सकिएको छ । सम्मेलनमा बौद्धमार्गी भिक्षु तथा लामा र बौद्ध अध्येता तथा विद्वान् गरी दुईथरी बौद्ध विद्वानहरुको सहभागिता रहने छ । लुम्बिनीमा सम्मेलन हुने भए पछि त्यसका लागि आवश्यक तयारी सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ